काठमाडाैं । भारतीय जनता पार्टी (भाजपा) का नेता शुभेन्दु अधिकारीले पश्चिम बंगालको मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष उपस्थितिमा शनिबार कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक भव्य समारोहका बीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मुख्यमन्त्री अधिकारीसँगै भाजपाका अन्य वरिष्ठ नेताहरू दिलीप घोष, अग्निमित्रा पल, अशोक कीर्तनिया, खुदीराम टुडु र निशिथ प्रामाणिकले पनि मन्त्री पदको शपथ लिएका छन्।
शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री अधिकारीले आजको दिन देश र बंगालका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए। प्रधानमन्त्री मोदीको इच्छा अनुसार नै रविन्द्र जयन्तीको पावन अवसरमा नयाँ सरकारले कार्यभार सम्हालेको उनले उल्लेख गरे।
“प्रधानमन्त्रीको नेतृत्वमा, गुरु रविन्द्रनाथ टैगोरप्रति श्रद्धा अर्पण गर्दै र संविधानको सम्मान गर्दै हामीले शपथ लिएका छौं,” अधिकारीले भने।
डा. श्यामा प्रसाद मुखर्जीको आदर्शमा आधारित राजनीतिक दललाई कसैको प्रमाणपत्र आवश्यक नरहेको टिप्पणी गर्दै उनले आफू अब कुनै निश्चित पक्षको नभई सम्पूर्ण बंगालको मुख्यमन्त्री भएको स्पष्ट पारे। उनले भने, “म अब मुख्यमन्त्री हुँ र म सबैका लागि हुँ। जो अझै पनि चुनावी नतिजाकै चर्चामा अल्झिएका छन्, उनीहरूलाई सद्बुद्धि मिलोस्।”





























प्रतिक्रिया