रुसी राष्ट्रपति पुटिनले चीन भ्रमण : आपसी विश्वास र रणनीतिक रूपमा बलियो

रुसी राष्ट्रपति पुटिनले चीन भ्रमण : आपसी विश्वास र रणनीतिक रूपमा बलियो

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्दै चीन–रुस सम्बन्धलाई ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ भएको बताएका छन् । विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने सङ्केत दिएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन लगतै भएको पुटिनको भ्रमणलाई दुवै देशबीच व्यावहारिक सहकार्य विस्तार गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ ।

विशेषगरी युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्धको चापमा परेको रुस अहिले ऊर्जा निर्यातका लागि चीनमाथि अझ बढी निर्भर बन्दै गएको छ । पश्चिमी देशहरूले लगाएको प्रतिबन्धले रुसको ऊर्जा आम्दानीमा असर पारेपछि मस्कोले बेइजिङसँगको सम्बन्धलाई आफ्नो आर्थिक र रणनीतिक सुरक्षा दुवैका लागि महत्त्वपूर्ण ठानेको देखिन्छ ।

यसैबीच, इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धका कारण मध्यपूर्वबाट तेल र ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रुसले आफूलाई वैकल्पिक ऊर्जा आपूर्तिकर्ताका रूपमा प्रस्तुत गर्ने अवसर खोजिरहेको छ । विश्लेषकहरूका अनुसार पुटिनले यस भ्रमणका क्रममा मङ्गोलियामार्फत चीनसम्म ल्याइने प्रस्तावित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक ग्यास पाइपलाइन परियोजनालाई अघि बढाउन सक्ने सम्भावना छ । यो परियोजनालाई मध्यपूर्वबाट समुद्री मार्ग हुँदै आउने ऊर्जाको स्थलीय विकल्पका रूपमा हेरिएको छ ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भएको वार्ताको उद्घाटन सत्रमा दुवै नेताले ‘मैत्रीपूर्ण सहयोग’ सम्बन्धी सन्धि विस्तार गर्ने घोषणा गर्दै दुई देशबीचको सम्बन्धलाई विशेष महत्त्व दिएका थिए । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले पुटिनसँग ‘राजनीतिक आपसी विश्वास र रणनीतिक समन्वयलाई निरन्तर गहिरो बनाइएको’ बताएका थिए।

उता रुसी सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यअनुसार पुटिनले पनि ‘प्रतिकूल बाह्य परिस्थितिहरू’ का बाबजुद चीन–रुस सम्बन्ध ‘अभूतपूर्व उच्च स्तरमा पुगेको’ उल्लेख गरेका थिए । उनले कुनै देशको नाम नलिए पनि यो टिप्पणी अमेरिकातर्फ सङ्केत गरिएको रूपमा हेरिएको छ ।

सीले वार्ताका क्रममा ‘एकपक्षीय र प्रभुत्ववादी प्रवृत्ति अनियन्त्रित रूपमा फैलिरहेको’ चेतावनी दिँदै अप्रत्यक्ष रूपमा अमेरिकाको आलोचना गरेका थिए । पछिल्ला महिनाहरूमा ट्रम्प नेतृत्वको अमेरिकाको अनिश्चित नीतिका कारण धेरै मुलुक चीनसँग नजिकिन थालेको विश्लेषण भइरहेका बेला बेइजिङले विश्व नेताहरूको शृङ्खलाबद्ध स्वागतलाई तीव्रता दिएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि चीन–रुस सम्बन्ध अझ निकट बनेको छ । पश्चिमी देशहरूसँगको दूरी बढेसँगै पुटिनले हरेक वर्ष चीन भ्रमण गर्दै आएका छन् ।

Logo