काठमाडौं । सन् २०२२ अप्रिलमा प्रधानमन्त्री पदबाट इमरान खानलाई हटाउन अमेरिकी दबाबमा रहेको खुलेको छ । खोज पत्रकारिता गर्ने समाचार संस्था ड्रप साइट न्युजको अनुसन्धानले पाकिस्तानको एक कूटनीतिक ‘केबल’ (पत्राचार)ले हटाएको जनाएको छ ।
उक्त केबलअनुसार खानलाई पदबाट हटाइए वासिङ्टनले पाकिस्तानप्रति आफ्ना असन्तुष्टि बिर्सशदिने आश्वासन दिइएको थियो । रिपोर्ट ७ मार्च सन् २०२२ मा अमेरिकाका लागि तत्कालीन पाकिस्तानी राजदूत असद माजिद खान र दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भएको भेटवार्तामा केन्द्रित छ । भेटमा लुले पाकिस्तानका प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावमार्फत हटाउन सुझाव दिएको रिपोर्टमा उल्लेख छ ।
ड्रप साइट न्युजले उद्धृत गरेको कूटनीतिक केबल अनुसार लुले राजदूत असदलाई ‘यदि खानलाई अविश्वास प्रस्तावमार्फत पदबाट हटाइयो भने वासिङ्टनले खान सरकारप्रतिका असन्तुष्टिलाई किनारा लगाइदिन सक्ने’ बताएका थिए । पछि पाकिस्तानी राजदूतले उद्धृत गरेको ‘सबै माफ हुनेछ’ भन्ने वाक्यांश पनि त्यही प्रसंगमा प्रयोग गरिएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले वासिङ्टनले खानलाई हटाउन प्रभाव पार्न खोजेको आरोपलाई अस्वीकार गर्दै आएको छ । तर, ड्रप साइटको रिपोर्टले त्यो कूटनीतिक संवादले दुई देशबीच लामो समयदेखि जारी तनावलाई प्रतिबिम्बित गरेको उल्लेख गरेको छ ।
फेअब्रअुरी सन् २०२२ मा इमरान खान मस्को गएका थिए । जहाँ उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता भएको थियो । त्यही समयमा रुसी सेनाले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । उक्त भेट हुनुभन्दा केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आफ्ना पाकिस्तानी समकक्षी मोइद युसुफलाई फोन गरेर खानलाई भ्रमण रद्द गर्न मनाउन आग्रह गरेका थिए ।
ड्रप साइटबाट बाहिरिएको उक्त फोन संवादका विवरणअनुसार, सुलिभानले भ्रमण नगर्न चेतावनी दिँदै युक्रेन युद्धमा अमेरिकाको पक्षमा स्पष्ट रूपमा उभिन इस्लामाबादमाथि दबाब दिएका थिए । तर, खानले उक्त चेतावनीको बेवास्ता गरेका थिए ।
त्यसको केही समयपछि रुसी आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघको महासभामा ल्याइएको प्रस्तावमा मतदान नगरी पाकिस्तानले तटस्थ बस्ने निर्णय गरेको थियो । त्यतिबेला पाकिस्तान चीन र भारतसहितका केही देशहरूसँगै उभिएको थियो ।
सन २०२२ अप्रिल ९ मा विपक्षी दलहरूको समर्थनमा दर्ता भएको अविश्वास प्रस्ताव पारित भएपछि इमरान खान पदबाट हटाइएका थिए । विपक्षी दलहरूसँगको महिनौं लामो राजनीतिक टकराव र पाकिस्तानको शक्तिशाली सैन्य प्रतिष्ठानसँग बढ्दो तनावको पृष्ठभूमिमा उनको बहिर्गमन भएको थियो । त्यसपछि बनेको सरकारलाई सेनाले समर्थन गरेको थियो ।































प्रतिक्रिया