न्युयोर्क ।
अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । डेमोक्र्याटिक पार्टीका प्रत्याशी जो बाइडेन ४६ औं राष्ट्रपति बन्ने निश्चित देखिएको छ । उनी जितका आवश्यक २ सय ७० इलेक्टोरल भोटको निकै नजिक छन् । जितपछि बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार हुनेछन् ।
जो बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर भएका थिए ।
उनले ३३ वर्ष अघि सन् १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशितका रूपमा आफ्नो अभियान चलाएका थिए । त्यतिबेला बलियो दाबेदार ठानिएका उनी बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि अभियान त्याग्न बाध्य भएका थिए ।
बाइडेनमा विदेश नीति सम्बन्धी दशकौं लामो अनुभव छ । कूटनीतिक अनुभव बलियो पक्ष भएकाले विदेश मामिला सम्बन्धी जटिल विषय उनका लागि बढी हानिकारक हुन सक्ने देखिन्छ ।
यसअघि सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्षसमेत रहेका बाइडेनले ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतासँग भेटेको दाबी गर्छन् । यसले मतदातालाई आश्वस्त पार्न सक्ने भए पनि विदेश मामिलाका विभिन्न मुद्दामा उनले विगतमा गरेका मतदानले कस्तो असर पार्ला भन्न सकिँदैन । उनले सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा इराक अतिक्रमणको समर्थन गरेका थिए । पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गरेका थिए । अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । उक्त कारबाहीमा लादेन मारिएका थिए ।
प्रखर वक्ताका रूपमा परिचित बाइडेन सामान्य नागरिकसँग निकै सहज रूपमा घुलमिल हुन सक्छन् । विरोधीका नजरमा भने उनी ‘अस्ताउन लागेका घाम’ हुन् जसले बेलाबखत लाजमर्दो व्यवहार गर्छ । उदाहरणका लागि महिलाको कपाल सुँघ्ने बाइडेनको बानी छ । गत वर्ष उनले आफूहरूलाई अनुचित स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको आरोप आठ महिलाले लगाएका थिए ।
बाइडेन मतदातालाई आकर्षित गर्न सक्ने स्वभाव भएका नेतासमेत मानिन्छन् । भाषणका क्रममा भने उनी बेलाबेला चिप्लने गरेका छन् । एक भाषणमा उनले आफ्ना पुर्खाहरू पेन्सलभेनियाका कोइलाखानीमा काम गर्ने बताएका थिए । तर त्यो वास्तविकता होइन । उनले सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बोल्दै ‘आठ जना राष्ट्रपतिलाई चिनेको र तीमध्ये तीन जना आफ्नो अत्यन्त निकट रहेको’ दाबी गरेका थिए । उनको यो दाबी गलत भएको र विचार नगरी बोलेको जनाइएको छ । ओबामाको उपराष्ट्रपतिका रूपमा सन् २००९ मा उनले ‘आफूहरूका कारण अर्थतन्त्रमा ३० प्रतिशत हानि पुर्याउने सम्भावना रहेको’ बताएका थिए ।
मतदातासँगको भेटघाटमा भने बाइडेन निकै सहज रूपमा प्रस्तुत हुन्छन् । खासगरी कामदार तथा मजदुर वर्गलाई भाषणमार्फत लट्ठ पार्न सक्छन् । भाषणपछि समर्थकसँग हात मिलाउँछन् र कुनै रकस्टारले जस्तो अँगालो मार्ने वा फोटो खिचाउने गर्छन् ।
बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा भएको हो । उनकी पहिलो पत्नी नेलिया र नाओमीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको दुर्घटनामा नेलिया र नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए । बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो । पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राख्ने गर्छन् । उक्त सहानुभूति आगामी दिनमा कायम हुन्छ कि हुँदैन भन्नेचाहिँ उनको कार्यशैलीमै भर पर्छ ।कान्तिपुरबाट































प्रतिक्रिया