काठमाडौं । अमेरिका र इरानबीच सम्भावित ‘ठूलो’ सम्झौताका निम्ति पर्दा पछाडि तीव्र कूटनीतिक वार्ता भइरहेको जनाइएको छ । दुवै देशले एकार्कालाई सन्देश तथा लिखित प्रस्ताव आदानप्रदान गरिरहेका एनडीटीभीले उल्लेख गरेको छ ।
अर्कोतर्फ, अलजजिराले इरानी अधिकारीलाई उद्धृत गर्दै अमेरिका र इरान सम्झौताका निम्ति निकैनजिक पुगेका जनाएको छ । यद्यपि, अन्तिम सहमति भइसकेको छ वा छैन भन्ने निष्कर्ष निकाल्न अझै हतार हुनेछ ।
यसैबीच, पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी इरान भ्रमणमा रहेका र उनले होर्मुज जलमार्गको अवस्थाबारे छलफल गरिरहेका जनाइएको छ । तर, अन्तिम सम्झौता कहिलेसम्म टुंगिनेछ भन्ने विषय अझै अनिश्चित छ । यो कूटनीतिक गतिविधि अमेरिकाको हतियार भण्डारमा कमी देखिन थालेको समयमा भइरहेको छ ।
द वासिङटन पोस्टको एक रिपोर्टअनुसार, इजरायलको रक्षा गर्ने क्रममा अमेरिकाले आफ्ना मिसाइल प्रतिरोधी प्रणालीको अत्यधिक प्रयोग गरेको छ । अमेरिकाले इजरायललाई जोगाउन २०० भन्दा बढी ‘थाड’ इन्टरसेप्टर मिसाइल प्रहार गरेको जनाइएको छ । साथै, समुद्रमा तैनाथ युद्धपोतहरूबाट १०० भन्दा बढी ‘स्ट्यान्डर्ड मिसाइल–३’ र ‘स्ट्यान्डर्ड मिसाइल–६’ पनि प्रहार गरिएको थियो ।
यसका कारण पेन्टागनसँग रहेको कुल मिसाइल भण्डारको करिब आधा हिस्सा सकिएको रिपोर्टमा उल्लेख छ । इजरायलले आफ्नो सुरक्षाका निम्ति अमेरिकाको तुलनामा कम मिसाइल प्रयोग गरेको थियो । इजरायलले करिब १०० वटा ‘एरो’ र लगभग ९० ‘डेभिड्स स्लिङ’ इन्टरसेप्टर मात्र प्रयोग गरेको जनाइएको छ ।





























प्रतिक्रिया