इबोला भइरसले आक्रान्त कंगो, १७७ जनाको मृत्यु

इबोला भइरसले आक्रान्त कंगो, १७७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो तिवेला इबोला रोगबाट आक्रान्त बनेको छ । इबोला भाइरसबाट अति प्रभावित पूर्वी कंगोका दुई प्रान्त इटुरी र उत्तरी किभुका स्थानीय महामारीसँगै भ्रमपूर्ण सूचनाले आक्रान्त छन्।

विश्व स्वास्थ संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयससले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै कंगोमा अहिलेसम्म इबोलाका ९ सयभन्दा धेरै शंकास्पद केस भेटिएको बताएका छन् । यसअघि डब्लूएचओले कंगोमा कम्तीमा १ सय ७७ वटा मृत्युका घटना इबोलासँग सम्बन्धित हुन सक्ने जनाएको थियो ।
इटुरीका ग्रामीण क्षेत्रबाट इबोलाको संक्रमण सुरु भएको मानिएको छ। तर, इटुरी प्रान्तको राजधानी बुनिया र उत्तरी किभुको राजधानी गोमाजस्ता ठूला सहरमा समेत अहिले यो भाइरस महामारीका रूपमा फैलिएको छ। छिमेकी देश युगान्डामा पाँच जना संक्रमित भइसकेका छन्। दुई जनाको मृत्यु भइसकेको छ।

अहिले फैलिरहेको इबोलाको बुन्डिबिग्यो भ्यारियन्टको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध छैन । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले नयाँ खोप विकास गर्दैछ। तर यसलाई क्लिनिकल परीक्षणका लागि पठाउन झन्डै दुईदेखि तीन महिना लाग्ने बीबीसीले उल्लेख गरेको छ। यो खोप प्रभावकारी हुनेछ भन्ने कुनै ग्यारेन्टी पनि अहिले छैन । यसलाई पहिले जनावर र त्यसपछि मानिसमा परीक्षण गरिनेछ ।

डब्लूएचओले शुक्रबार जारी गरेको विज्ञप्तिमा कंगोमा जोखिमको स्तर ‘अति उच्च’ रहेको र अफ्रिका क्षेत्रमा ‘उच्च’ रहेको जनाएको छ । विश्वव्यापी रूपमा यो संक्रमण फैलने सम्भावना भने कम रहेको डब्लूएचओले जनाएको छ । द्वन्द्व र अभावका कारण पूर्वी कंगोमा अवस्था निकै चुनौतीपूर्ण छ।

इबोलाको महामारी फैलिएपछि असन्तुष्ट युवाले अस्पताल लगायतका सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरेका छन् । सरकारले शुक्रबार सार्वजनिक भेला र जमघटमा रोक लगाएको भए पनि सबैले त्यसलाई पालना गरेका छैनन् ।

Logo