काठमाडौं । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासमा भवनहरू भत्किएका छन् भने स्थानीय बासिन्दा त्रसित बनेका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.१ म्याग्निच्युडको थियो। यसको केन्द्रबिन्दु देशको क्यारिबियन तटीय क्षेत्रमा पर्ने मोरोन समुदायको पश्चिममा, काराकासबाट करिब १६८ किलोमिटर (१०४ माइल) पश्चिममा रहेको थियो। भूकम्पको गहिराइ २२ किलोमिटर रहेको थियो।
यूएसजीएसले त्यसको एक मिनेटपछि नै अझ शक्तिशाली ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको जनाएको छ। दोस्रो भूकम्पको गहिराइ १० किलोमिटर रहेको थियो भने यसको केन्द्रबिन्दु मोरोनबाट १६ किलोमिटर (१० माइल) दक्षिणपश्चिममा रहेको थियो। ‘ठूलो संख्यामा मानवीय क्षति र व्यापक भौतिक क्षति हुने सम्भावना छ, र यो विपद् व्यापक रूपमा फैलिएको हुन सक्छ,’ यूएसजीएस भनेको छ।
समाचार संस्था एपीका अनुसार यी एक शताब्दीभन्दा बढी समययता भेनेजुएलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्येका हुन्। स्थानीय समयअनुसार साँझ ६ बजेलगत्तै भूकम्प गएको थियो। काराकासमा हल्लिरहेका भवनहरूबाट मानिसहरू बाहिर निस्किएर खुला स्थानमा बसेका थिए।
सडकबाटै घरका पूरा भित्ताहरू भत्किएको र भित्रका फर्निचर देखिने अवस्था थियो। राजधानीका दुई क्षेत्रमा धुलोका मुस्लाहरू उडेको देखिएको थियो, जहाँ सामान्यतया रेस्टुरेन्ट तथा अन्य व्यवसायहरू व्यस्त रहने गर्छन्।
सूर्यास्तपछि पनि मानिसहरू सडकमै बसेका थिए। कतिपयले आफ्ना घरपालुवा जनावरलाई अँगालो हालेर जमिनमै बसेका थिए भने उनीहरू वरिपरि धुलो उडिरहेको थियो। काराकासका बासिन्दा हेक्टर रिक्कीले भने, ‘सुरुमा भूकम्पको कम्पन हल्का थियो, त्यसपछि विस्तारै बढ्दै गयो र अन्त्यमा हामी सबैले घर छाडेर बाहिर निस्कनुपर्यो र एकै ठाउँमा भेला हुनुपर्यो।’
गृहमन्त्री डिओस्दादो काबेलोले भूकम्पको धक्का देशका विभिन्न राज्यहरूमा महसुस गरिएको बताए। उनका अनुसार काराकासको अल्तामिरा क्षेत्रमा घर तथा भवनहरू भत्किएका छन् र अवस्था चिन्ताजनक छ। उनले भूकम्पका कारण मानिसहरू घाइते भएको हुन सक्ने भन्दै एम्बुलेन्स र अन्य उद्धार सवारीसाधनलाई बाटो दिन सर्वसाधारणलाई आग्रह गरे।
अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले भर्जिन टापुहरू का लागि सुनामी चेतावनी जारी गरेको छ। डोमिनिकन गणराज्य का अधिकारीहरूले पनि आफ्नो द्वीपका लागि चेतावनी जारी गरेका छन्। पुएर्टो रिको का लागि जारी गरिएको अर्को चेतावनी भने केही समयमै हटाइएको थियो। भेनेजुएलामा यति शक्तिशाली भूकम्पहरू विरलै आउने गर्छन्।





























प्रतिक्रिया