काठमाडौं । टर्किएमा नेटोको सम्मेलन सुरु हुने पूर्वसन्ध्यामा रुसले सोमबार बिहानै युक्रेनको राजधानी किभमा घातक आक्रमण गरेको छ ।
रुसले लगातार ब्यालेस्टिक मिसाइल ड्रोन प्रहार गर्दा कम्तिमा किभमा कम्तिमा १२ जना र नजिकैका क्षेत्रमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै दर्जनौं घाइते रहेको स्थानीय अधिकारीले बताएका छन् ।
किभका मेयर भिटाली क्लिट्स्च्कोका अनुसार चारवटा जिल्लामा ठूलो क्षति निम्तिएको छ । नेटो सम्मेलनमा रुस–युक्रन युद्धबारे गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।
यस दौरान जेलेन्स्कीले ट्रम्पसँग विशेष भेट गर्नेछन् । रुसी विदेश मन्त्रालयका अनुसार ट्रम्पले आइतबार पुटिनसँग ९० मिनेट लामो टेलिफोन कुराकानी गर्दै युद्ध अन्त्यका लागि सहयोग गर्ने इच्छा प्रकट गरेका थिए । त्यसअघि उनले शनिबार जेलेन्स्कीसँग टेलिफोन कुराकानी गरेका थिए ।
नेटो सदस्य राष्ट्र नभएपनि नेटोका अधिकांश सदस्यसँग युक्रेनले सुरक्षा सहकार्य गरिरहेको छ । नेटो सदस्यहरुले युक्रेनलाई आर्थिक तथा हतियार सहयोग गरिरहेका छन् ।नेटोकोप्रतिको बढ्दो झुकावलाई नै कारण देखाएर रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो ।
ट्रम्पले राष्ट्रपतीय चुनावका दौरान आफु राष्ट्रपति बनेको २४ घण्टाभित्रै यो युद्ध समाप्त गरिदिने दाबी गरेका थिए । तर, ट्रम्पको कार्यालयको ५ सय दिन कटिसक्दा पनि युद्ध अन्त्य भएको छैन । जेलेन्स्कीले नेटोका सम्मेलनअघि युरोपेली सहयोगीहरुसँग युक्रेनलाई नयाँ मिसाइल र हतियार सहयोग गर्न आग्रह गरेका छन् ।
पछिल्ला दिनहरुमा रुस र युक्रेन दुबैले एकअर्कामाथिको आक्रमण बढाएकाछन् । युक्रेनले केही दिनअघि मात्रै रुसी भूभागमा मिसाइल र ड्रोन प्रहार गरेको थियो । त्यसक्रममा तेल प्रशोधन गृह, बन्दरगाह र सैनिक संरचनामा क्षति पुगेको थियो । सोमबार युक्रेनबाट प्रहार भएका ५ सय १३ वटा ड्रोनहरुलाई खसालिएको रुसी सरकारी समाचार एजेन्सी तासले जनाएको छ ।






























