जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो

जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो

केन्द्रबिन्दु
3
Shares

टोकियो । जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा सन् २०२० देखि २०२५ को अवधिमा जनसङ्ख्या १० प्रतिशतभन्दा बढीले घटेको जापानी समाचार संस्था ‘क्योदो न्युज’ले आइतबार जनाएको छ ।

समाचारअनुसार, यस्तो गिरावट भएका नगरपालिकाको सङ्ख्या अघिल्लो पाँच वर्षको तुलनामा झण्डै दोब्बर भएको छ । सन् २०१५–२०२० मा २४७ नगरपालिका यस श्रेणीमा रहेकामा सन् २०२०–२०२५ मा यो सङ्ख्या बढेर ४७७ पुगेको छ ।

सबैभन्दा ठूलो जनसङ्ख्या गिरावट मध्य जापानको इशिकावा प्रिफेक्चरस्थित सुजु सहरमा देखिएको छ । सन् २०२४ को शक्तिशाली भूकम्पपछि त्यहाँको जनसङ्ख्या ३४ प्रतिशतले घटेको जनाइएको छ ।

उत्तरपूर्वी जापानका इवाते र अकिता तथा पश्चिमी जापानको कोची प्रिफेक्चरका आधाभन्दा बढी नगरपालिकामा पनि जनसङ्ख्या १० प्रतिशतभन्दा बढीले घटेको पाइएको छ ।

यो विश्लेषण सन् २०२० को राष्ट्रिय जनगणना र सन् २०२५ को अक्टोबर १ सम्मको प्रारम्भिक जनगणनाका तथ्याङ्कको आधारमा गरिएको हो । यसमा सरकारद्वारा तोकिएका २० प्रमुख सहरका १७१ प्रशासनिक जिल्लासहित कुल एक हजार ८९२ नगरपालिकाको जनसङ्ख्या परिवर्तनको अध्ययन गरिएको छ ।

विशेषज्ञहरूले तीव्र जनसङ्ख्या घट्दै जाँदा सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा नकारात्मक असर पर्ने चेतावनी दिएका छन् । उनीहरूले जापानको तीव्र जनसाङ्ख्यिक परिवर्तनलाई सम्बोधन गर्न प्रभावकारी नीतिको आवश्यकता रहेको बताएका छन् ।

यद्यपि २४३ नगरपालिकामा जनसङ्ख्या वृद्धि भएको देखिए पनि अधिकांश क्षेत्रमा जनसङ्ख्या घट्ने प्रवृत्ति जारी रहेको र केवल जन्मदर बढाएर मात्रै यो समस्या समाधान गर्न कठिन हुने विश्लेषणमा उल्लेख गरिएको छ । -सिन्ह्वा

Logo