उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु

उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु

केन्द्रबिन्दु
15
Shares

गाजा । उत्तरी गाजास्थित एक सुरक्षा चौकीमा भएको इजरायली हवाई आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु भएको स्थानीय स्रोत र प्रत्यक्षदर्शीले बताएका छन् । मृतकमध्ये हमासद्वारा सञ्चालित आन्तरिक मामिला निकायसँग आबद्ध प्रहरी अधिकारीहरू रहेको जनाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार, जबालिया शरणार्थी शिविरको पश्चिममा पर्ने अल–फालुजा क्षेत्रमा रहेको सुरक्षा चौकीमा इजरायली ड्रोनले तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणबाट चौकीमा ठूलो क्षति पुगेको र आसपासका क्षेत्रमा पनि असर परेको बताइएको छ । उक्त सुरक्षा चौकी बाक्लो भीडभाड हुने बजार क्षेत्र र विस्थापितले आश्रय लिइरहेका पाल नजिकै रहेको जनाइएको छ ।

चिकित्सा स्रोतले आक्रमणमा एक महिलासहित कम्तीमा सात जनाको मृत्यु भएको र अन्य केही घाइते भएको पुष्टि गरेका छन् । हमासद्वारा सञ्चालित आन्तरिक मामिला निकायले जारी गरेको विज्ञप्तिमा मृतकमध्ये जबालिया शिविर प्रहरी चौकीका प्रमुख मोहम्मद मारवान सालेम पनि रहेको उल्लेख गर्दै आक्रमणको निन्दा गरेको छ । निकायले घटनालाई ‘नरसंहार’ को सङ्ज्ञा दिएको छ ।

आक्रमणबारे इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । गाजाका स्वास्थ्य अधिकारीले मङ्गलबार पछिल्लो २४ घण्टामा अस्पतालमा दुई शव र २१ जना घाइते ल्याइएको बताएका छन् । उनीहरूका अनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता गाजामा मृत्यु हुनेको सङ्ख्या एक हजार ११० पुगेको छ भने तीन हजार ५९९ जना घाइते भएका छन् ।

स्वास्थ्य अधिकारीले सन् २०२३ अक्टोबर ७ देखि हालसम्म गाजामा मृत्यु हुनेको कुल सङ्ख्या ७३ हजार २३३ र घाइते हुनेको सङ्ख्या एक लाख ७३ हजार ७०७ पुगेको दाबी गरेका छन् ।

यसैबीच, प्यालेस्टाइनका अर्थ तथा योजनामन्त्री एस्टेफान एन्टोन सालामेहले गाजामा राहत तथा पुनःस्थापना कार्यका लागि अन्तरराष्ट्रिय सहयोगको प्रतिबद्धता एक अर्ब अमेरिकी डलर पुगेको बताउनुभएको छ ।

सरकारी ‘भ्वाइस अफ प्यालेस्टाइन’ रेडियोसँग कुरा गर्दै सालामेहले उक्त सहयोग रकम निकट भविष्यमा गाजाका बासिन्दाको राहत तथा पुनःस्थापना कार्यमा प्रयोग गरिने जानकारी दिए

Logo