काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अचानक बर्खास्त गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नियुक्ति पाएको ६ महिनामै फेडोरोभ रक्षामन्त्री पदबाट हटाइएका हुन्।
यसको विरोधमा बिहीबार युक्रेनका धेरै सहरमा विरोध प्रदर्शन भएको छ, जुन युद्ध सुरु भएयता पहिलो हो। राजधानी किभमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिए। ओडेसा, ल्भिभ र खार्किभमा पनि प्रदर्शन भए।
जेलेन्स्कीको निर्णयले राजनीतिक विश्लेषक, सेना र नागरिक समाजको एक वर्गमा आक्रोश निम्त्याएको छ। केही समयदेखि रक्षामन्त्री फेडोरोभ र युक्रेनी सेना प्रमुख ओलेक्जान्डर सिर्स्कीबिच मतभेद भएको अनुमान गरिएको थियो। अहिले अनुमान सही साबित भएको छ।
फेडोरोभले बिहीबार भनेका छन्, ‘मैले राष्ट्रपति जेलेन्स्कीलाई सेना प्रमुख ओलेक्जान्डर सिर्स्की र जनरल स्टाफ प्रमुख एन्ड्री हनाटोभ हटाउन आग्रह गरेको थिएँ। जब राष्ट्रपतिले सिर्स्कीलाई नहटाउने भन्नुभयो, मैले भनेँ- मैले उहाँसँग काम गर्न सिक्नुपर्छ।’उनले सिर्स्कीलाई लक्ष्य गर्दै थपे, ‘फरक रणनीतिले रुसलाई हराउने बाटो खोज्नुको सट्टा उनले देशलाई विभाजन गर्ने बाटो रोजे।’
यसैबिच युक्रेन भ्रमणमा रहेका बेलायतका प्रधानमन्त्री किअर स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा जेलेन्स्कीले रक्षा मन्त्रालय र जनरल स्टाफ प्रमुखबिच विभिन्न स्तरमा लामो समयदेखि द्वन्द्व रहेको स्वीकार गरेका छन्।































