बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्यांकमा हस्तक्षेप गरेको बताएपछि शुक्रबार बेइजिङले आरोप ‘कपोलकल्पित’ भन्दै खण्डन गरेको छ ।
‘मिडटर्म’ निर्वाचनअघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो दाबी पुनः दोहोर्याएका हुन् । धेरैले यसले उनलाई थप विवादित बनाउने आशंका गरेका छन् ।
ट्रम्पले बिहीबार ह्वाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको बताएका थिए । उनले कानुन निर्माताहरूलाई मतदानमा नयाँ प्रतिबन्धहरू लागु गर्न आह्वान गरे । यद्यपि उनको रिपब्लिकन पार्टीभित्र पनि यी उपायहरूबारे खासै रुचि राखेको देखिएको छैन ।
“अमेरिकी पक्षबाट गरिएका सम्बन्धित दाबीहरू पूर्ण रूपमा कपोलकल्पित र दुर्भावनापूर्ण आरोपहरू हुन् जुन, पहिले नै आधारहीन साबित भइसकेका छन्,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा भने ।
“चीनलाई अमेरिकी निर्वाचनमा कुनै चासो छैन र कहिल्यै हस्तक्षेप गरेको छैन,” लिनले भने, “कसले नियमित रूपमा अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी राख्छ भन्ने अन्तर्राष्ट्रिय समुदायले स्पष्ट रूपमा देखेको छ ।”
अमेरिकालाई आफ्नो कार्यको आत्मनिरीक्षण गर्न, चीनमाथि आधारहीन आरोप लगाउन बन्द गर्न उनले आग्रह गरे । “आफ्नो निर्वाचनबारेमा चीनलाई मुद्दा बनाउन रोक्न र चीन–अमेरिका सम्बन्धलाई फाइदा पुर्याउने काम गर्न आह्वान गर्दछौँ,“ उनले थपे । रासस/एएफपी































