इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इरानसँगको युद्धमा अमेरिकाले हालसम्म करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरिसकेको अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बताएका छन् । यो गत मे महिनामा सार्वजनिक गरिएको पछिल्लो अनुमानभन्दा करिब ८ अर्ब डलर बढी रकम हो ।

डेमोक्रयाट सांसद डिक डर्बिनले इरान युद्धमा हालसम्म कति खर्च भएको छ भन्ने प्रश्न गरेपछि हेगसेथले ३७.५ अर्ब डलर खर्च भएको तथ्यांक सार्वजनिक गरेका हुन् ।

अमेरिका र इरानबीच पुनः द्वन्द्व सुरु भएयता सिनेट विनियोजन समितिसमक्ष पहिलोपटक उपस्थित भएका हेगसेथले सांसदहरूले तत्काल थप बजेट स्वीकृत नगरे सैन्य तालिमहरू कटौती गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

उनले आफ्नो मन्त्रालयका लागि कंग्रेससँग ८७ अर्ब डलरको थप बजेट माग गरिएको र त्यसमध्ये ६७ अर्ब डलर मध्यपूर्वका सैन्य अभियानका लागि छुट्याइएको जानकारी दिएका बीबीसीले बताएको छ ।

यो सुनुवाइका क्रममा युद्धविरोधी प्रदर्शनकारीहरूले पटक–पटक अवरोध गरेका थिए । उनीहरूमध्ये केहीले इरान र प्यालेस्टाइनमा ‘हाम्रा बालबालिकामाथि बमबारी गर्न बन्द गर’ भन्दै नाराबाजी गरेका थिए । मध्यपूर्वमा तीनजना अमेरिकी सैनिक मारिएपछि युद्धले संवेदनशील मोड लिएको बेला हेगसेथ समितिसमक्ष उपस्थित भएका हुन् ।

ह्वाइट हाउसले अप्रिलमा आगामी आर्थिक वर्षका लागि पेन्टागनको बजेटस्वरूप कंग्रेससँग १.५ ट्रिलियन डलर मागेको थियो । यो स्वीकृत भए आधुनिक इतिहासमै अमेरिकी सैन्य खर्च सबैभन्दा उच्च स्तरमा पुग्नेछ ।

यसैबीच, अमेरिकाले मंगलबार लगातार ११औँ दिन पनि इरानविरुद्ध आक्रमण जारी राखेको छ । इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी तथा उसका सहयोगी लक्ष्यहरूमा जवाफी आक्रमण गरिरहेको छ ।

रक्षामन्त्री हेगसेथले मंगलबारको सुनुवाइको सुरुआतमै ‘हामी अत्यन्त खतरनाक विश्वमा बाँचिरहेका छौँ’ भन्दै त्यसको सामना गर्न साहसी र तीव्र निर्णय आवश्यक रहेको बताए । प्रदर्शनकारीहरूको अवरोधपछि उनले आफ्नो बजेट माग अत्यन्त आपत्कालीन परिस्थितिमा आएको उल्लेख गरे ।

शत्रु राष्ट्रहरूले अमेरिकालाई पछि पार्न नसकून् भन्ने सुनिश्चित गर्न महत्वपूर्ण लगानी आवश्यक रहेको उनले बताए । उनले विनियोजन गरिने प्रत्येक डलर अमेरिकी सैन्य क्षमताको अभिवृद्धि गर्न तथा शक्तिका माध्यमबाट शान्तिलाई सुदृढ बनाउन प्रयोग गरिने बताए ।

सिनेट विनियोजन समितिकी अध्यक्ष तथा रिपब्लिकन सांसद सुसान कलिन्सले आवश्यक बजेट स्वीकृत नभए के असर पर्छ भन्ने प्रश्न गरेकी थिइन् । जवाफमा हेगसेथले आवश्यक बजेट नपाए वर्तमान र भविष्यका सैन्य तालिमहरू कटौती गर्नुपर्ने अवस्था आउने बताए । उनले पूर्वराष्ट्रपति जो बाइडेन नेतृत्वको प्रशासनमाथि सैन्य बजेट घटाएको आरोप पनि लगाए ।

समितिकी वरिष्ठ डेमोक्र्याट सांसद प्याटी मरेले बजेट मागको विरोध गर्दै यसलाई पर्याप्त तर्कसंगत नदेखिएको बताइन् । उनले ट्रम्प प्रशासनमाथि सामान्य विनियोजन प्रक्रियालाई छल्ने प्रयास गरेको आरोप पनि लगाइन् ।

डेमोक्रयाट सांसद डिक डर्बिनले इरान युद्धमा हालसम्म कति खर्च भएको छ भन्ने प्रश्न गरेपछि हेगसेथले ३७.५ अर्ब डलर खर्च भएको तथ्यांक सार्वजनिक गरेका हुन् ।

दुई डेमोक्रयाटिक स्रोत र विषयबारे जानकार अर्को एक स्रोतले दिएको जानकारीअनुसार इरान युद्धको वास्तविक खर्च सार्वजनिक गरिएकोभन्दा अझ बढी हुन सक्छ । किनभने हालको अनुमानमा क्षति पुगेका अमेरिकी सैन्य अड्डाहरूको पुनर्निर्माणलगायत खर्च समावेश गरिएको छैन ।

पेन्टागन प्रमुख हेगसेथले प्रस्तावित बजेट स्वीकृत भए यसले एक पुस्तासम्म प्रभाव पार्ने लगानी साबित हुने र अमेरिकालाई रणनीतिक रूपमा पछाडि पर्नबाट जोगाउने दाबी गरे ।

मे १२ मा पेन्टागनका एक वरिष्ठ अधिकारीले इरान युद्धमा २९ अर्ब डलर खर्च भएको बताएका थिए । त्यसयता युद्धको वित्तीय खर्चबारे कुनै आधिकारिक सरकारी अनुमान सार्वजनिक गरिएको थिएन ।

यसअघि, पेन्टागनले सांसदहरूलाई युद्धको पहिलो सातामै अमेरिकाको करिब ११.३ अर्ब डलर खर्च भएको जानकारी दिएको थियो । इरान र अमेरिका अप्रिलमा युद्धविराम गर्न सहमत भएका थिए । तर, उक्त युद्धविराम भंग भएपछि गत सातादेखि पुनः द्वन्द्व सुरु भएको छ ।

Logo