रुसविरुद्धको युद्धमा नयाँ रणनीतिमा युक्रेन, सैन्य नेतृत्वमा व्यापक फेरबदल

रुसविरुद्धको युद्धमा नयाँ रणनीतिमा युक्रेन, सैन्य नेतृत्वमा व्यापक फेरबदल

केन्द्रबिन्दु
12
Shares

किएभ। रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य नेतृत्वमा व्यापक फेरबदल गरेको छ। राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सार्वजनिक दबाब र युद्ध रणनीतिमा सुधारको आवश्यकतालाई ध्यानमा राख्दै सेना प्रमुखसहित उच्च सैन्य नेतृत्व परिवर्तन गरेका हुन्।

हालै गरिएको सरकारी पुनर्गठनपछि सेना प्रमुख र रक्षामन्त्री दुवैले पद गुमाएका छन् । निवर्तमान सेना प्रमुख र रक्षामन्त्रीबीच देखिएको मतभेदले युद्ध सञ्चालनमा असर पार्ने चिन्ता बढिरहेका बेला यो निर्णय आएको हो । युक्रेनले यस वर्ष युद्धका विभिन्न मोर्चामा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै आएको छ।

नयाँ सेना प्रमुखका रूपमा ४३ वर्षीय मेजर जनरल मिखाइलो द्रापाती नियुक्त भएका छन्। उनी युक्रेनी सेनाको नयाँ पुस्ताका कमान्डरमध्ये एक मानिन्छन्। उनी सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि सुरु भएको द्वन्द्वदेखि आफ्नो नेतृत्व क्षमता र साहसका कारण परिचित छन्।

राष्ट्रपति जेलेन्स्कीले द्रापाती र अन्य सैन्य कमान्डरलाई कोर प्रणालीमा सुधार, हतियार तथा ड्रोनको आपूर्ति तीव्र बनाउने, रुसको आक्रमणविरुद्ध हवाई प्रतिरक्षा थप सुदृढ गर्ने तथा स्पष्ट परिचालन रणनीति तयार पार्ने निर्देशन दिएका छन्।

यसैबीच, निवर्तमान रक्षामन्त्रीसँग पनि राष्ट्रपति जेलेन्स्कीले छुट्टै छलफल गरेका छन्। ३५ वर्षीय प्रविधिमैत्री उद्यमी मिखाइलो फेडोरोभलाई युक्रेनको ड्रोन प्रविधिको तीव्र विकास गराएर युद्धक्षेत्रमा रणनीतिक लाभ दिलाएको श्रेय दिइन्छ ।

फेडोरोभले पूर्वकमान्डर–इन–चिफ जनरल ओलेक्सान्डर सिरस्कीको कार्यशैलीको सार्वजनिकरूपमा आलोचना गर्दै उनले आवश्यक सैन्य सुधारमा अवरोध पुर्याएको आरोप लगाएका थिए। सिरस्की सोभियत सङ्घकालमा सैन्य तालिम प्राप्त पुराना पुस्ताका कमान्डर हुन्।

फेडोरोभलाई पुनः जिम्मेवारीमा फर्काउन र सिरस्कीलाई हटाउन माग गर्दै किएभसहित विभिन्न सहरमा प्रदर्शनसमेत भएका थिए । प्रदर्शनकारीले फेडोरोभलाई सैन्य आधुनिकीकरणका प्रमुख अभियन्ताका रूपमा हेरेका थिए ।

राष्ट्रपति जेलेन्स्कीले फेडोरोभलाई सरकारभित्रै प्रविधि क्षेत्रको समन्वय गर्ने सम्मानजनक नयाँ जिम्मेवारी प्रस्ताव गरेका छन्। उनले उक्त प्रस्ताव स्वीकार गरेका छन् छ वा छैनन् भन्ने विषयमा भने औपचारिक जानकारी सार्वजनिक भएको छैन ।

फेडोरोभले द्रापातीको नियुक्तिलाई स्वागत गर्दै यसलाई स्वतन्त्रता र न्यायका लागि युक्रेनको सङ्घर्षमा नयाँ आशाको सुरुआत भएको प्रतिक्रिया दिएका छन्। साथै उनले सिरस्कीले किएभको रक्षा, खार्किभ प्रतिआक्रमणसहितका महत्त्वपूर्ण सैन्य अभियानमा पुर्याएको योगदानको प्रशंसा गर्दै ती उपलब्धि युक्रेनको इतिहासको महत्त्वपूर्ण हिस्सा रहने उल्लेख गरेका छन्। तर, अब युक्रेनले अझ तीव्र गतिमा अघि बढ्दै विगतका कमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

गत साता प्रधानमन्त्रीसहित सरकारका प्रमुख पदमा गरिएको फेरबदलपछि सुरु भएको राजनीतिक असन्तुष्टि सैन्य नेतृत्व परिवर्तनसँगै थप चर्चामा आएको छ । हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएपछि राष्ट्रपति जेलेन्स्कीले अन्ततः सैन्य नेतृत्वमा व्यापक पुनर्संरचना गर्ने निर्णय लिएका हुन्।

Logo