अमेरिका र साउदी अरबबीच परमाणु सम्झौतामा हस्ताक्षर

अमेरिका र साउदी अरबबीच परमाणु सम्झौतामा हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिकाले साउदी अरबसँग एक ऐतिहासिक परमाणु सम्झौतामा हस्ताक्षर गरेको छ । साउदी सरकारले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण परमाणु ऊर्जासम्बन्धी वार्तालाई अन्तिम रूप दिँदै सम्झौतामा हस्ताक्षर भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार अमेरिकी ऊर्जा मन्त्री क्रिस राइट र साउदी अरबका ऊर्जामन्त्री तथा उद्योग एवं खनिज स्रोतमन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले शान्तिपूर्ण परमाणु सहयोग सम्झौता तथा त्यससँग सम्बन्धित द्विपक्षीय सुरक्षा प्रत्याभूति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अमेरिकी ऊर्जा मन्त्रालयले यो सम्झौताले साउदी अरबको शान्तिपूर्ण परमाणु ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूको सहभागिताका लागि ठूलो अवसर सिर्जना गर्ने जनाएको छ ।

सम्झौता सार्वजनिक हुनुअघि अमेरिकी सञ्चारमाध्यमहरूले यसले साउदी अरबलाई आफ्नै भूमिमा युरेनियम प्रवर्द्धन गर्ने अनुमति दिनसक्ने सम्भावना रहेको उल्लेख गरेका थिए । यद्यपि, सम्झौताका सबै विवरण अझै सार्वजनिक गरिएका छैनन् ।

सुरक्षा मामिलाका विश्लेषकहरूले यदि, साउदी अरबले आफ्नै भूमिमा युरेनियम प्रवर्द्धन गर्न थालेमा इरानका कट्टरपन्थी समूहहरूलाई गोप्य रूपमा परमाणु हतियार विकासको दौड तीव्र बनाउन प्रेरणा मिल्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले भने यो सम्झौता परमाणु सुरक्षा र सुरक्षासम्बन्धी उच्चतम अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप कार्यान्वयन हुने बताएका छन् ।

मध्यपूर्व मामिलाकी विज्ञ रोजमेरी केलानिकले अमेरिकाले साउदी अरबलाई आफ्नै भूमिमा युरेनियम प्रवर्द्धन गर्ने पूर्वाधार विकास गर्न अनुमति दिने प्रकृतिको सम्झौतामा हस्ताक्षर गर्नु निकै चकित पार्ने विषय भएको टिप्पणी गरेकी छन् ।

उनले सार्वजनिक भएका प्रारम्भिक विवरण उद्धृत गर्दै साउदी भूमिमै युरेनियम प्रवर्द्धन केन्द्र स्थापना गर्न अमेरिकी सहयोगको सम्भावना रहेको औँल्याइन् । बीबीसी

Logo