कोरोना भाइरस अर्थतन्त्र: विश्व अर्थतन्त्रमा व्यापक सुधार हुने मुद्रा कोषको पूर्वानुमान

कोरोना भाइरस अर्थतन्त्र: विश्व अर्थतन्त्रमा व्यापक सुधार हुने मुद्रा कोषको पूर्वानुमान

केन्द्रबिन्दु
0
Shares

चालु वर्ष र आगामी वर्षमा विश्व अर्थतन्त्रमा व्यापक सुधार देखिने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पूर्वानुमान गरेको छ। उसले गत जनावरी महिनामा गरेको यूके र विश्व अर्थतन्त्र सम्बन्धी पूर्वानुमान परिमार्जन गरेको हो।

तर ब्रिटेनको अर्थतन्त्र सन् २०२२ को अन्त्यतिर मात्रै कोभिड-१९ महामारीभन्दा अघिको अवस्थामा फर्कने अनुमान गरिएको छ।

आईएमएफका अनुसार यूकेमा यो वर्ष ५.३ प्रतिशत वृद्धि देखिने छ भने सन् २०२२मा वृद्धिदर ५.१ प्रतिशत रहने छ।

दुई वर्षको पूर्वानुमान हेर्दा यूकेको अवस्था सन् २०२० देखि २०२२ का बीच जी-७ राष्ट्रमध्ये एक, इटली भन्दा राम्रो हुने देखिएको छ।

यो वर्ष र आगामी वर्ष विश्व अर्थतन्त्रमा भने क्रमशः ६ प्रतिशत र ४.४ प्रतिशत वृद्धि देखिने बताइएको छ।

'खोपका कारण सुधार'

पूर्वानुमान बारे एउटा ब्लगमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले स्वास्थ्य अनि आर्थिक सङ्कटबाट बाहिर निस्कने बाटो देखिँदै गएको उल्लेख गरेकी छन्।

सन् २०२१ मा खोप अभियानले धेरै देशहरूको अवस्थामा सुधार ल्याउन सहयोग गर्ने उनले लेखेकी छन्। तर फरक फरक रूपमा सुधार भइरहेको विषय बारे भने उनले चिन्ता व्यक्त गरेकी छन्।

खोप वितरणमा सुस्त देखिएका राष्ट्र, अर्थनीतिमा सीमित समर्थन अनि पर्यटनमा आश्रित मुलुकहरूको धेरै राम्रो गर्न सक्ने सम्भावना कम रहेको बताइएको छ। यी मध्ये पहिलो दुई विषय विकासशील राष्ट्रहरूका लागि प्रमुख समस्या रहने बताइएको छ।

त्यस्ता धेरै मुलुकहरूको खोपमा पहुँच कम छ र उनीहरूलाई अर्थ तथा स्वास्थ्य सम्बन्धी नीतिमा लगानी गर्न कठिन हुनेछ।

उदीयमान र विकासशील अर्थतन्त्रहरूबीच चीन आर्थिक गतिविधिहरूका हिसाबले पूर्व-महामारीको स्तरमा फर्किसकेको छ। तर उक्त समूहमा रहेका धेरै राष्ट्रहरूले सन् २०२३ अघि त्यस्तो गर्न नसक्ने ठानिएको छ।बीबीसीबाट

Skip This
Skip This
Logo