नयाँ दिल्ली ।
भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । आइतबार बिहानसम्म प्राप्त समाचार अनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ९४ हजार ५५२ भएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ३१ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा ६१ हजार ८७१ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण १ हजार ३३ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ । अझै पनि भारतभरी ७ लाख ८३ हजार ३११ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परे यता हालसम्म ६५ लाख ९७ हजार २१० जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।
भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । यसअघि नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पछिल्लो ४५ दिन यता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो । कोरोनाको सङ्क्रमण देखा परे यता भारतमा शनिबारसम्म ९ करोड ४२ लाख २४ हजार १९० व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।
जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ। विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९९ लाख ५९ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कूल सङ्क्रमित मध्ये दुई करोड ९८ लाख ६१ हजार ७६५ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।रासस





























प्रतिक्रिया