अमेरिकी स्पेश एजेन्सी नासाको परसेभरेंस रोभर हरेक दिन नयाँ इतिहास बनाउन लागिपरेको छ। नासाका अनुसार ६ पाँग्रावाला रोभरले मंगल ग्रहको वायुमण्डलमा रहेको कार्बनडाइक्साइड ग्यासलाई अक्सिजनमा बदलेको छ।
स्पेश एजेन्सीका अनुसार कुनै अन्य ग्रहमा भएको यो पहिलो घटना हो। यसप्रकारले हेर्दा मंगल ग्रहलाई आफ्नो दोस्रो घर बनाउने दिशामा मानवताले एक कदम बढाएको छ। यस प्रविधिले मंगलमा बस्ने पहिलो मानव बस्तीलाई अक्सिजन आपूर्तिको सुनिश्चितता गर्न सकिन्छ।
"मार्स अक्सिजन इन सितु रिर्सोस युटिलाइजेशन एक्सपेरिमेन्ट" (Mars Oxygen In-situ Resource Utilization Experiment ) कारको ब्याट्रीको साइजको एउटा गोल्डेन बक्स हो। उक्त बक्स रोभरको दाहिने भागमा रहेको छ। यसको व्याख्या 'मेकानिकल ट्री'को रुपमा गरिएको छ। यसले कार्बनडाइक्साइडको मलिक्युललाई अलग गर्नका लागि इलेक्ट्रिसिटी तथा रसायन विज्ञानको प्रयोग गर्छ। कार्बनडाइक्साइड एउटा कार्बन तथा दुइवटा अक्सिजनको अणुले बनेको हुन्छ। कार्बनडाइक्साइडबाट अक्सिजन बनाउने प्रक्रियामा बाइप्रडक्टको रुपमा कार्बन मोनोक्साइड पनि उत्सर्जित हुन्छ।

यस अक्सिजन बनाउने डिभाईस (Mars Oxygen In-situ Resource Utilization Experiment ) ले पहिलो पटक पाँच ग्राम अक्सिजन तयार गरेको छ।
अन्तरिक्ष यात्रीलाई यति अक्सिजनले १० मिनेट सास फेर्न पुग्छ। यस उपकरणका इन्जिनियर अब अधिक मात्रामा अक्सिजन उत्पादनतर्फ लागिसकेका छन्। यस उपकरणका माध्यमले प्रतिघण्टा १० ग्राम अक्सिजन उत्पादन गर्न सकिन्छ। म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा डिजाइन गरिएको यस डिभाइसलाई निकल अलोय जस्ता धातुबाट तयार गरिएको हो। यसले १४७० डिग्री फरेनहाइट अर्थात ८०० डिग्री सेल्सियससम्मको तापमान सहन सक्छ।































प्रतिक्रिया