काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।
हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हा आएपनि पाँच लाख मेट्रिकटन युरिया मल ल्याउन सम्भव नभएको बताएका छन् । शुक्रबार ४० औँ विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन युरिया मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् ।
त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार रेम्डेसिभिर नामक औषधिको कोभिड–१९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको छ । फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको उल्लेख गरेको हो ।
दुवईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछाने मध्यसिजन खेलाडी ट्रान्सफर सूचीमा समावेश भएका छन् । दिल्ली क्यापिटल्सले लामिछानेसहित मध्यसिजन खेलाडी ट्रान्सफर सूचीमा अन्य ११ जना खेलाडीलाई ट्रान्सफर सूचीमा समावेश गरेको हो ।
त्यस्तैगरी बुढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको आरोप लगाएका पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराइको अभिव्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् । शुक्रबार ६५ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्तिको खण्डन गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले ५४ औँ वार्षिक साधारण सभाको मितिसँगै चुनावी तालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी विभिन्न तीन स्थानमा निर्वाचन गरिने महासंघले जनाएको हो । साधारण सभाको बन्दसत्र मंसिर १२ गते बिहान ९ बजे हुनेछ भने, मंसिर १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङकेट बबरमहल र नेपाल उद्योग वाणिज्य महासंघ टेकुमा छुट्टा छुट्टै स्थानमा निर्वाचन हुनेछ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया