डब्ल्यूएचओद्वारा चीनको सिनोभ्याक खोपलाई पनि आपतकालीन प्रयोगको अनुमति

डब्ल्यूएचओद्वारा चीनको सिनोभ्याक खोपलाई पनि आपतकालीन प्रयोगको अनुमति

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। डब्ल्यूएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो।

अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने ढोका खुलेको छ।

अठार वर्ष माथिकालाई दिन मिल्ने

सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ। यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ।

आपत्‌कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले 'सुरक्षा, प्रभावकारिता तथा उत्पादन'का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्ल्यूएचओले जनाएको छ।

अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने पाइएको उसले जनाएको छ।

सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको थियो।

कोभ्याक्सलाई राहत

सिनोभ्याकका अनुसार उसले स्वदेश र विदेश गरी मे महिनाको अन्त्यसम्म ६० करोड मात्रा आपूर्ति गरिसकेको छ, जसमध्ये ४३ करोड मात्रा खोप लगाइसकिएको छ।

सिनोभ्याक खोपको एउटा मुख्य फाइदा भनेको यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिन्छ। अर्थात् न्यून तापक्रममा ठूलो परिमाणमा खोप भण्डार गर्ने क्षमता नभएका विकासोन्मुख देशहरूका निम्ति यो सहज हुनेछ।

डब्ल्यूएचओको मान्यतापश्चात् गरिब देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रमले यो खोपलाई पनि प्रयोग गर्ने बाटो खुलेको छ।

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाइदिएपछि कोभ्याक्सले गरिब देशहरूलाई आपूर्ति गर्न सकिरहेको थिएन। गत महिना डब्ल्यूएचओले चीनको सिनोफार्म खोपलाई पनि अनुमति दिएको थियो। चिनियाँ सिनोफार्म कम्पनीको भेरोसेल खोपले यसअघि नै अनुमति पाइसकेको छ।

विश्वव्यापी अपील

विश्वका प्रमुख स्वास्थ्य तथा वित्तीय निकायहरूले कोभिड १९ महामारीको अन्त्य गर्न सघाउन ५० अर्ब डलरको लगानीको आह्वान गरेका छन्।

एउटा संयुक्त वक्तव्य जारी गर्दै विश्व स्वास्थ्य सङ्गठन, विश्व व्यापार सङ्गठन, विश्व ब्याङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले संसार खतरनाक बिन्दुमा पुगेको जनाएका छन्।

उनीहरूले खोप उत्पादन, अक्सिजन आपूर्ति, तथा कोभिड-१९ का उपचार तथा निदानमा प्रयोग हुने सामग्रीहरू र तिनको यथोचित वितरणका निम्ति स्रोतको खाँचो औँल्याएका हुन्। उनीहरूले धनी देशहरूलाई तत्काल विकासोन्मुख देशहरूमा खोप दिन पनि आह्वान गरेका छन्।

डब्लुएचओका प्रमुख टेड्रोस एड्हानम गेहब्रेयससले भने, "हामीसँग यो महामारी चाँडै अन्त्य गरेर असङ्ख्य ज्यान र जनजीविका जोगाउने उपाय छन्।"

"तर त्यसो गर्न हामीमा इच्छाशक्तिको खाँचो छ। भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय। हामीसँग उपाय त छ तर प्रश्न उठ्छ के इच्छा छ त?"बीबीसीबाट

Skip This
Skip This
Logo