ट्रम्प चुनावी र्यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक

ट्रम्प चुनावी र्यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन ।

अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताएका छन् ।

गत शुक्रबार कोरोना भाइरसबाट सङ्क्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दावी गरेका हुन् । उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौं व्यक्ति सङ्क्रमित भएका छन् । राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल गएका थिए भने सोमबार निवास फर्किएका थिए ।

निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् । उनका फिजिसियन सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिएका हुन् ।

स्थानीय समय अनुसार बिहीबार राति फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले शनिबार फ्लोरिडामा हुने र्यालीमा आफू सहभागी हुन चाहेको बताएका थिए। टेलिफोनबाट गरिएको अन्तर्वार्ताका क्रममा उनले आफू कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिएका थिए ।

सोही अन्तर्वार्तामा राष्ट्रपतिय बहसमा भने आफू सहभागी हुन नचाहेको उनले बताएका थिए । राष्ट्रपतीय बहस आयोगका अधिकारीहरुले अक्टोबर २२ तारिखका दिन दोस्रो बहस आयोजना गर्ने तयारी गरे पनि ट्रम्पले अनिच्छा देखाएपछि बहस अन्यौलमा परेको हो ।

उनहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धी बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका थिए।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्रयाटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् ।रासस

Logo