काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष बीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भएको हो । आज बिहान ११ बजेदेखि चलेको भेटवार्तामा पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक र राजनीतिक नियुक्ति, मन्त्रिमण्डल पुनर्गठन लगायतका विषयमा छलफल भएको छ ।
त्यस्तै विदेशी च्यानलमा विज्ञापनरहित (क्लिन फिड) लागु भए नेपालको विज्ञापन बजार बढ्ने मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले बताएका छन् । क्लिन फिड लागु नहुँदा नेपाली टेलिभिजन, छापा माध्यम र रेडियोको विज्ञापन बजार संकुचन भएको उनले बताएका हुन् ।
फेसबुकले नेपालमा एक्सप्रेस वाइफाइ सेवा सुरु गरेको घोषणा गरेको छ । कम्पनीले नेपालको सबैभन्दा ठूला इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कसँगको सहकार्यमा नेपालका ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाइफाइ दिन थालेको हो ।
त्यस्तैगरी नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति भएको तथ्यांकले देखाएको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बाढी, पहिरो, डुबान र चट्याङले यो दशकमै बढी मानवीय क्षति भएको हो ।
विश्व बैंकले कोरोना भाइरसको संक्रमणका कारण नेपालको अर्थ व्यवस्था ऋणात्मक हुने प्रक्षेपण गरेको छ । कोरोनाका कारण सबैभन्दा कठोर प्रहार अनौपचारिक क्षेत्रमा भएको विश्व बैंकले जनाएको हो । विश्व बैंकको पछिल्लो दक्षिण एशियास्तरिय आर्थिक प्रतिवेदनकाअनुसार कोरोनाका कारण गरिएको लकडाउनले आर्थिक गतिविधिमा, विशेष गरी पर्यटन क्षेत्रमा पुर्याएको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशत मात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा भने बढेर ०.६ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया