अफगानिस्तानका आधाभन्दा बढी मुख्य सहरहरु तालिबानी विद्रोहीको नियन्त्रणमा गइसकेका छन्। अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार र तेस्रो ठूलो सहर हेरात तथा पश्चिम अफगानिस्तानका मुख्य सहरी केन्द्र बिहीबारदेखि तालिबान लडाकुको कब्जामा छन्। उक्त लडाकु समूहले सरकारी कार्यालय तथा हेरात प्रहरी मुख्यालय आफ्नो नियन्त्रणमा लिएका अफगान अधिकारीले जनाएका छन्।
अफगानिस्तानबाट आफ्ना नागरिकलाई स्वदेश फर्कन अमेरिकाले आग्रह गरेको छ। बिहीबार काबुलस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई छिटोभन्दा छिटो अफगानिस्तान छाड्न सूचना जारी गरिसकेको छ।
उत्तर–पश्चिम क्षेत्रस्थित बादघिस प्रान्तको राजधानी क्वाला–ई–नव सिटी पनि तालिबान लडाकुको कब्जामा रहेको बादघिस प्रान्तीय काउन्सिल सदस्यले सिएनएनलाई जनाएका छन्।
‘काबुल जाने सडकमा पर्ने घाज्नी सहर पनि मिलिट्यान्ट समूहले लामो तथा कठोर भिडन्तपछि बिहीबार बिहानै नियन्त्रणमा लिएका छन्,’ घाज्नी प्रान्तीय सरकारका प्रमुख नासिर अहमद फाकिरीले भने। घाज्नी सहर काबुलबाट १ सय ५० किलोमिटर दक्षिणमा पर्छ, जसले कान्दाहारलाई काबुलसँग जोड्छ।
घाज्नीलाई नियन्त्रणमा लिएपछि तालिबानले काबुलबाट उत्तर र दक्षिण स्थानहरुमा प्रभुत्व जमाइसकेको छ। यसअघि तालिबानले काबुलको उत्तरमा पर्ने बाग्घलान प्राप्त कब्जा गरेपछि त्यहाँ रहेका अमेरिकी अधिकारी पनि चिन्तित बनेका हुन्। उक्त स्थानलाई राजधानीको सुरक्षाका लागि महत्वपूर्ण ठाउँ मानिँदै आएको थियो।
बाइडेन प्रशासनसम्बद्घ अमेरिकी जासूसी अध्ययनमा संलग्न एक अधिकारीका अनुसार तालिबानले आउँदा ३० देखि ६० दिनभित्रमा काबुललाई नियन्त्रणमा लिइसक्छन्। राजधानी काबुल छिट्टै सैन्य समूहको पूर्ण नियन्त्रणमा जाने निश्चित भएको अमेरिकी अधिकारीको भनाइ छ।
यसैबीच, अफगानिस्तानको सशस्त्र विद्रोही तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दाहार नियन्त्रणमा लिएको छ। अफगान संसद् सदस्य गुल अहमद कामिनले विद्रोहीहरूले तीव्र रूपमा राजधानी काबुलतर्फ नियन्त्रण बढाइरहेका सिएनएनलाई जनाएका छन्।
कान्दाहार देशको दक्षिणी भेगमा पर्छ, जुन इलाकामा केही सातादेखि तालिवानले नियन्त्रण जमाइरहेका छन्। तालिबानको दबदबा बढ्न थालेपछि अमेरिकाको ‘ब्याकअप’ पाएको अफगान सरकार अन्त्यको बाटोतिर उन्मुख भइरहेको कतिपय विश्लेषकहरूको भनाइ छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै तालिबानले सरकारी कार्यालय, प्रहरी हेडक्वार्टर र अन्य भागका मुख्य सहरका केन्द्रहरु नियन्त्रणमा लिइसकेको बताएको छ। ‘सयौं हतियार, गाडी र सैन्य सामग्री हामीले बरामद गरेका छौं,’ तालिबान विज्ञप्तिमा भनिएको छ।
सांसद कामिनले उनी तथा अन्य व्यक्तिहरुले अन्तर्राष्ट्रिय एयरपोर्ट छेउमा रहेको मिलिटरी बेसमा हेर्दा त्यहाँका सरकारी सैनिकहरु आत्मसमर्पणको अवस्थामा रहेका छन्। ‘धेरै सरकारी सिपाहीहरुले आत्मसमर्पण गरिसकेका छन् र, बाँकी त्यहाँबाट भागिसकेका छन्,’ कामिनले भने।
कामिनले केही समयअघि सिएनएनलाई तालिबान लडाकुले सहरको मुख्य भागमा नियन्त्रण लिनसक्ने खालको सामथ्र्य विकास गरिसकेको जानकारी दिएका थिए। तालिबान लडाकु र सरकारी सेना केही सातादेखि आमनेसामने रहँदै आएका थिए।
कान्दाहार मुख्यतः देशका तीनवटा मुख्य राजमार्गको ‘जङ्कसन’ भएकाले यसको रणनीतिक महत्व छ। अमेरिकी सैन्य अपरेसनका लागि यो ठाउँ मुख्य केन्द्र रहँदै आएको थियो। यति हुँदा पनि कान्दाहार तालिबानको नियन्त्रणबाट यसअघि पनि बाहिर जान सकेको थिएन। झन् पछिल्लो समयमा त अफगानिस्तानका ३४ प्रान्तीय राजधानीमध्ये १३ वटामा तालिबान लडाकुले पकड जमाइसकेका छन्।
गत मेमा अमेरिकी सेनाले कब्जा गरेको भूमि पनि तालिबान लडाकुले फिर्ता लिइसकेका छन्। अमेरिकी सेनाले यही अगस्टभित्रमा कान्दाहारबाट तालिबानलाई ‘ब्याक’ गराउने रणनीति लिए पनि असफल भएको विश्लेषक बताउँछन्।





























प्रतिक्रिया