इस्लामावाद । कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै ३ लाख मानिस सङ्क्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् ।
सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुबै प्रकारका विद्यालय रहेको जनाइएको छ । सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पालनामा भने अत्यन्त कडाइ गरिएको छ ।
त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय शिक्षा मन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताए ।
कोरोना भाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उनले जानकारी दिए । पाकिस्तानमा अहिलेसम्म कूल ३ लाख १२ हजार २ सय ६३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ७ सय ४७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको पनि राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा थप पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै कूल मृतकको सङ्ख्या ६ हजार ४ सय ७९ जना पुगेको छ ।
पाकिस्तानमा अहिले पनि कोरोना भाइरसको सङ्क्रमणका कारण ४ सय ६७ जना गम्भीर अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये २ लाख ९६ हजार ८ सय ८१ जना अहिले पूर्णरुपमा सङ्क्रमणमुक्त भइसकेका छन् । सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा ३२ हजार ३१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका छन् । पाकिस्तानमा अहिलेसम्म ३५ लाख १४ हजार २ सय ३७ जनाको कोरोना परीक्षण गरिएको छ ।–रासस/पीटीआई































प्रतिक्रिया