बंगलादेशमा हिन्दु मन्दिरमा दुर्गा पूजाको क्रममा भएका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ । मुस्लिमहरूको बाहुल्यता रहेको बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दुको आस्थामाथि भएका हमला संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
सरकारले सबै देश बासी र धर्मावलम्बीलाई संयमित हुन आग्रह गरेको छ ।
यसै साता दुर्गा पूजाका क्रममा मुस्लिमहरूले हिन्दु मन्दिरमा तोडफोड गरेपछि भएको हिंसामा चार जनाको मृत्यु भएको थियो । हिंसा भड्किन नदिन प्रधानमन्त्री शेख हसिना वाजेदले तत्कालै २२ जिल्लामा अर्धसैन्य बल तैनाथ गर्न निर्देशन दिएकी थिइन् ।
धार्मिक र साम्प्रदायिक दंगा फैलिन सक्ने आशंकमा सरकारले देशभरको सुरक्षा अवस्था कडा बनाएको छ । ‘कोमिलामा भएको घटनाको बृहत् रूपमा अनुसन्धान भइरहेको छ । जुनसुकै धर्ममा आस्था राख्ने भए पनि घटनाका दोषी उम्कन पाउने छैनन् । दोषीलाई कडा कारबाही हुनेछ, ’, ढाकस्थित दक्षेश्वरी हिन्दु मन्दिरमा हिन्दुहरूलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री हसिनाले भनिन् ।
यसैबीच, दुर्गा पूजा मनाउने क्रममा हिन्दुमाथि भएको आक्रमणको भारतले निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न बंगलादेश सरकारसँग माग गरेको छ ।





























प्रतिक्रिया