विदेशमा २६५ नेपालीको कोरोनाबाट निधन, यो साता २१ जना थपिए

विदेशमा २६५ नेपालीको कोरोनाबाट निधन, यो साता २१ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । ती मध्ये ३५ हजार ७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, युएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

यस्तै नेपालमा मात्र ७१ हजार ८२१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये ५३ हजार १३ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४६७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७३२ को निधन भएको छ । यस्तै विश्वभर एक लाख १० हजार ६० नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

हावाबाट कोरोना सर्दैन

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाले भने, “दुई मिटरसम्मको दूरीमा एक अर्काका कोरोना भाइरस सर्दैन, कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भावना निकै कम हुन्छ ।” स्वास्थ्य समितिले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन आग्रह गरेको छ । कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।

Skip This
Skip This
Logo