कोभिड-१९ः मृत्यु हुनेकाे संख्या ५० लाख नाघ्याे

कोभिड-१९ः मृत्यु हुनेकाे संख्या ५० लाख नाघ्याे


विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीबाट संसारभर मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ। त्यस्तै, कोभिडबाट विश्वभर २४ करोड मानिस संक्रमित भएका छन्। करिव दुई वर्षअघि सर्वप्रथम चीनको वुहानबाट कोभिड संक्रमण फैलिएको थियो। 

कोभिड खोप विकास भएपछि करोडौं मानिसहरुले खोप लगाएका छन्। तर, अझै पनि विश्वको ठूलो जनसंख्या खोपको पहुँचबाट टाढा छ। अहिले पनि कोभिडबाट विश्वमा दैनिक ८ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ। 

युरोपलगायतका देशमा कोभिड संक्रमण फेरि  बढेको छ। ‘युरोपमा पछिल्लो समयमा महामारी बढ्दा पछिल्लो दुई महिनामा कोभिड संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो अड्हानोम भेरब्रेइससले भने।

रसियामा कोभिडबाट संक्रमित र मृत्यु हुने दुबैको संख्या बढिरहेको छ। २० अक्टोबरपछि रसियामा कोभिडबाट दैनिक १ हजारको मृत्यु हुन थालेको छ। मृत्युदर बढे पनि त्यहाँका नागरिक खोप लगाउन अनिच्छुक छन्। ५० प्रतिशतभन्दा बढी रसियालीले अझै खोप लगाएका छैनन्। 

सरकारी तथ्यांकअनुसार १ नोभेम्बरसम्म रसियामा कोभिडबाट दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ। सरकारमाथि कोभिडबाट मृत्यु हुनेको संख्या लुकाएको आरोप लाग्दै आएको छ। 

युरोपमा रसियापछि युक्रेन, रोमानियामा कोभिडबाट धेरै मानिसको मृत्यु भएको छ। ती दुबै देशमा औसतमा ५०० जनाको मृत्यु हुने गरेको छ। 

यसैबीच, अमेरिकामा पछिल्लो एक सातामा कोभिडबाट औसतमा दैनिक एक हजार ४०० जनाको मृत्यु हुने गरेको छ।एजेन्सी

Logo