अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

केन्द्रबिन्दु
0
Shares

न्यूयोर्क ।

संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् ।

विगत छ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता दिएको छ । विशेषज्ञ सल्लाह अनुसरण गरेको भए नयाँ कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट हुने क्षति कम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । राष्ट्रपति ट्रम्प र उनका आफ्ना खासखास व्यक्तिले महामारीको गुरुत्वको यथार्थ वैज्ञानिक मूल्यांकनलाई निरन्तर अस्वीकार मात्र होइन, चाकडीको भाषाशैलीमा वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्ने प्रयास गरेका छन् ।

गत हप्ता मात्र, राष्ट्रपति ट्रम्पले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुख डा रोबर्ट रेडफिल्डलाई “भ्रमित” व्यक्तिको संज्ञा दिए किनकि रेडफिल्डले सन् २०२१ को अन्त्यतिर मात्र कोरोना भाइरस विरुद्धको खोप निर्माण हुने बताए। कुनै प्रमाण बेगर नै ट्रम्पले आगामी नोभेम्बर ३ को चुनाव अघि नै खोप तयार हुने दाबी गरेका थिए ।

खोपका लागि ट्रम्पको छटपटीले विज्ञान वा खोप निर्माण प्रक्रियालाई असर गरेको छ भन्ने कुनै संकेत भने देखिएको छैन, तर चुनाव अघि खोप निर्माण हुन सके चुनावलाई आफ्नो पक्षमा पार्न सकिने उहाँमा अटल विश्वास छ । ट्रम्प र विज्ञानबीचको द्वन्द्व कोभिड–१९ फैलिन थालेदेखि नै निरन्तर जारी छ ।

जनवरीको आखिरमा चीनको वुहानमा पहिलो पटक भाइरस देखा परिसकेपछि सिडिसीले आपतकालीन केन्द्रको थालनी गरेको थियो । इपिडेमियोलोजी (संक्रामक रोग विशेषज्ञ) विज्ञहरुले यो रोगलाई नियन्त्रणमा ल्याउन र फैलिन नदिन तत्कालै आक्रामक जनचेतना र सम्पर्क पहिचान (कन्टाक्ट ट्रेसिङ) आवश्यक रहेको बताएका थिए ।

यसको सट्टा, ट्रम्पले पहिलो महत्वपूर्ण हप्ताहरुमा सार्वजनिक रूपमै भाइरस केही होइन भन्दै हल्काफुल्का टिप्पणी गरे । यद्यपि उनले आफ्ना भित्री सहयोगीलाई भाइरस निकै खतरापूर्ण रहेको स्वीकारेका थिए ।

राष्ट्रपतिले पत्रकार बब वुडवर्डलाई मार्चमा भनेका थिए, “यो मामुली भाइरस हो, यसलाई सहजै परास्त गर्न सकिन्छ ।” मार्चको मध्यसम्ममा, न्यूयोर्क र अन्य ठाउँका अस्पतालहरू बिरामीहरूले भरिभराउ भए र फ्रिजयुक्त ट्रकमा शवहरू राख्नु परेको थियो ।

मार्च ३१ मा, राष्ट्र अझै पनि महामारीको स्वरुप र प्रभाव बुझ्न आतुर थियो । ह्वाइट हाउसको कोरोना भाइरस प्रतिक्रिया समन्वय केन्द्रका डा डेबोरा बर्क्स र संक्रामक रोग सम्बन्धी नेशनल इन्स्टिच्युटका निर्देशक डा एन्थोनी फाउचीले राष्ट्रपति ट्रम्पको छेउमा उभिएर अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुन सक्ने व्यक्तिको संख्याबारे अनुमान प्रस्तुत गरे । दुबै चिकित्सकले मुलुकमा मास्क अनिवार्य नगर्ने, सामाजिक दूरी कायम नगर्ने र व्यवसाय बन्द नगर्ने हो भने एक लाखदेखि २ लाख ४० हजारसम्म व्यक्तिको मृत्यु हुन सक्ने जानकारी दिए।रासस

Skip This
Skip This
Logo