कोरोना अपडेटः भारतमा एकैदिनमा ९२ हजार ६ सय ५ संक्रमित

कोरोना अपडेटः भारतमा एकैदिनमा ९२ हजार ६ सय ५ संक्रमित


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एक दिनमा संक्रमितको संख्या ९२ हजार ६ सय ५ पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कूल संख्या ५४ लाखभन्दा बढी पुगेको छ ।  केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले १ हजार १ सय ३३ जनाको मृत्यु भएको जनाएको छ ।

भारतमा कूल संक्रमितमध्ये अहिले पनि १० लाख १० हजार ८ सय २४ जना संक्रमित अवस्थामै रहेका छन् । भारतमा संक्रमितमध्ये ४३ लाख ३ हजार ४४ जना भने संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयकाअनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६ सय २० जना संक्रमित भएका हुन् । प्रदेशअनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि ३ लाख १ हजार २ सय ७३ जना संक्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा १ लाख १ हजार १ सय ४८ जना सक्रिय संक्रमितहरु छन् ।

त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १ सय ९७, उत्तर प्रदेशमा ६८ हजार २ सय ३५ र दिल्लीमा ३१ हजार ७ सय २१ जना संक्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सिलकाअनुसार भारतमा अहिलेसम्म ६ करोड १५ लाख ७२ हजार ३ सय ४३ जनाको कोरोना परीक्षण गरिएको छ ।– रासस/एएनआई

Logo