कंगोमा ५१ लडाकुलाई मृत्युदण्डको सजाय

कंगोमा ५१ लडाकुलाई मृत्युदण्डको सजाय

केन्द्रबिन्दु
0
Shares

प्रजातान्त्रिक गणतन्त्र कंगोमा दर्जनौं लडाकु सदस्यहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ। राष्ट्रसंघका दुई जना विज्ञहरुको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो। 

सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कंगोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो। उनीहरु सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि भेटिएका सामूहिक चिहानबारे अनुसन्धानमा खटिएका थिए। 

सो क्रममा उनीहरुका अनुवादक वेट टिशिन्टेला पनि मारिएका थिए। अपहरणको १६ दिनपछि उनीहरुको शव भेटिएको थियो। उनीहरुमध्ये क्याटालनको शिर छेदन गरिएको थियो । 

सो घटनापछि राष्ट्रसंघ स्तब्ध बनेको थियो। न्याय सुनिश्चित गर्न राष्ट्रसंघले सम्भाव्य सबै कदम चाल्ने राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका थिए। 

सन् २०१७ मा कसाइमा भएको द्वन्द्वमा सयौं मानिसको मृत्यु भएको थियो। सन् २०१६ को अगस्टमा सनातन नेता कामविना सापुको हत्यापछि भड्किएको हिंसामा १० लाख भन्दा बढी मानिस विस्थापित भएका थिए।

दर्जनौं प्रतिवादीहरुमध्ये अदालतले ५१ जनालाई मृत्युदण्ड सुनाएको हो। तर, कंगोले मृत्युदण्ड दिने सजाय यसअघि स्थगित गरेकोले लडाकुलाई सुनाइएको मृत्युदण्डको सजाय पनि जन्म कैदमा रुपान्तरण हुन सक्ने अनुमान गरिएको छ।एजेन्सी

Logo