काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा २ (ख) बमोजिम राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् । राष्ट्रपति भण्डारीले गौतमलाई मनोनित गरेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले उनलाई शपथ खुवाएका हुन् ।
त्यस्तै गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै गोङ्गबु बसपार्कमा चहलपहल बढेको छ । कोभिड–१९ का कारण चैत १० गतेदेखि बन्द अवस्थामा रहेको सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएसँगै नयाँ बसपार्कमा चहलपहल बढेको हो ।
देशमा कोरोना माहामारीको त्रास बढेसँगै ७ महिनादेखि खेलाडीहरुले नियमित प्रशिक्षणलाई सहज तरिकाले गर्न पाएका छैनन् । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) पछि कतिपय खेलाडी प्रतियोगिता विहिन भए भने ओलम्पिकमा छनोट भएका केही खेलाडीको लक्ष्य पातलो हुँदै गएको छ । अन्य देशमा सहभागि हुने नेपाली खेलाडीका प्रतिस्पर्धीले मापदण्डभित्र रहेर खेललाई निखारी रहँदा नेपाली खेलाडी भने सरकारले दिने अभ्यास अनुमति कुरेर बसेका छन् ।
त्यस्तैगरी अमेरिकामा आमरूपमा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने समयबारे राष्ट्रपति डोनाल्ट ट्रम्प र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले एक अर्कामा विरोधी अभिव्यक्ति दिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले केही हप्ताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरेका छन् भने सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले सन् २०२१ को मध्यसम्ममा आमनागरिकका लागि उपलब्ध हुनसक्ने बताएका हुन् ।
पूर्व अर्थ, सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडा पुनः एकपटक सर्वशक्तिमान बनेर उदाएका छन् । अर्थमन्त्रीबाट बाहिरिएको १० औँ दिनमै सिंहदरबार भित्र्दै पूर्व अर्थमन्त्री डा. खतिवडा सर्वशक्तिमान बनेका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया