युक्रेनको तनाव हटाउन कूटनीतिक पहल गर्न नेपालको अनुरोध

युक्रेनको तनाव हटाउन कूटनीतिक पहल गर्न नेपालको अनुरोध

केन्द्रबिन्दु
0
Shares

गएको करिब हप्ता दिनदेखि युक्रेनमा जारी रहेको तनाव कम गर्नका लागि कूटनीतिक पहल गर्न नेपालले आग्रह गरेको छ । युक्रेनमा रुसले गरिरहेको आक्रमणका कारण उत्पन्न तनाव कम गर्न शान्तिपूर्ण वार्ताको माध्यम अपनाउन नेपालले आग्रह गरेको हो । 

संयुक्त राष्ट्रसङ्घको आपत्कालीन विशेष साधारणसभालाई मुख्यालय न्युयोर्कमा मङ्गलबार सम्बोधन गर्दै राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले हिंसात्मक आक्रमणले थप हिंसात्मक अवस्था मात्र सिर्जना गर्ने उल्लेख गर्दै कूटनीतिक पहल र शान्तिपूर्ण संवाद मात्र शान्ति स्थापनाको मार्ग रहेको बताएको हो । 

उहाँले मङ्गलबार मात्र सरोकारवाला पक्षका बीचमा सुरु भएको शान्ति वार्ताको स्वागत पनि गर्नुभयो । त्यस सम्बोधनका क्रममा उहाँले वार्ताको प्रक्रियालाई निरन्तरता दिन र पुनः कूटनीतिक माध्यमबाट वार्ताको टेबलमा बस्न र हिंसात्मक आक्रमणलाई तत्कालै रोकेर शान्ति स्थापनाका लागि गम्भीर र प्रतिबद्ध हुन अपिल गरे । 

नियोग प्रमुख राईले युक्रेनमा मानवीय क्षति र मानवीय दुःखका बारेमा नेपालको गम्भीर चासो रहेको उल्लेख गर्दै हाल रुस र युक्रेनका बीचमा जारी रहेको तनावपूर्ण अवस्थालाई अधिकतम लचकताका साथ लाग्न र यसका लागि प्रभावकारी कदम चाल्न अपिलसमेत गरे । 

उनले सो सम्बोधनमा भनेका छन्, ‘हामी रुस र युक्रेनमा जारी रहेको तनावमा संलग्न पक्षहरुलाई अन्तर्राष्ट्रिय मानवतासम्बन्धी कानुनको पालना गर्दै नागरिकको रक्षा गर्न अनुरोध गर्दछौँ र सबै सरोकारवाला पक्षहरुलाई मानवीय कानुनको दायित्वबोध गर्न पनि विशेष रुपमा अपिल गर्दछौँ ।’

राजदूत राईले युक्रेनमा रहेका नेपालीहरुको सुरक्षामा गम्भीर चासो रहेको बताउँदै उनीहरुलाई सुरक्षित तरिकाले गन्तव्यतर्फ जाने कार्यमा समन्वय गर्न पनि सम्बद्ध सबैलाई अनुरोध गरे ।  

उनले नेपाल सदैव संयुक्त राष्ट्रसङ्घको वडापत्रअनुसार कुनै पनि देशको स्वायत्तता, सार्वभौमसत्ताको सदस्य राष्ट्रहरुले पूर्णरुपमा सम्मान गर्नुपर्ने सिद्धान्तमा अडिग रहेको स्पष्ट पारे । उनले भने, ‘हामी कुनै पनि देशको क्षेत्र, अधिकारमा कुनै पनि बहानामा धावा बोल्न या शक्तिको प्रयोग गर्दै राजनीतिक स्वतन्त्रताको हनन गर्ने विषयको सदैव विपक्षमा उभिन्छौँ ।’ 

राईले अन्तर्राष्ट्रिय तनावहरुको कूटनीति र संवादबाट मात्र समाधान भएको स्मरण गराउँदै  शान्तिको मार्ग पहिल्याउन कहिल्यै ढिलो गर्न नहुने कुरालाई नेपालले सदैव दोहो¥याउने र यसमा आफ्नो विश्वास रहेको बताए ।  

गएको शुक्रबारदेखि रुसले युक्रेनमा गरेको सैन्य कारबाहीबाट कैयौँ सैनिक तथा सर्वसाधारण, महिला र बालबालिकाको दुःखद निधन भएको छ । यसको समाधानको बाटो खोज्नका लागि राष्ट्रसङ्घले न्युयोर्कमा विशेष साधारणसभाको आह्वान गरेको छ । यस रुस र युक्रेनका विषयमा राष्ट्रसङ्घीय यस विशेष साधारणसभाले एक विशेष निर्णय गर्दैछ र यस विषयमा बुधबार नै मतदान गर्ने तय गरिएको छ । 
 

Skip This
Skip This
Logo