काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सकिएको छ । गत असार १० गतेदेखि जारी स्थायी कमिटीको बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सकिएको हो । आजको स्थायी कमिटी बैठकले अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
त्यस्तै सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको जीवन संरक्षणलाई तत्काल सजाय छुटको विशेष निर्णय लिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गत साउन १९ गते जारी गरेको आदेशको बिहीबार सार्वजनिक गरिएको पूर्णपाठमा कारागारको भीडभाड कम गर्न नाजुक अवस्थाका बालबालिका, गर्भवती, दुध खुवाइरहेका महिला तथा जटिल स्वास्थ्य समस्याका कैदीलाई प्राथमिकता आधारमा छुटको निर्णय गर्न निर्देशनात्मक आदेश दिएको हो ।
लामो सयमदेखि जारी गरिएको लकडाउन र निषेधाज्ञापछि अब सरकारले आन्तरिक उडान खोल्ने तयारी गरेको छ । सरकारले असोज १५ गतेदेखि आन्तरिक उडान खोल्ने तयारी गरेको हो । जसका लागि सुरुमा देशको उच्च पहाडी तथा पहाडी क्षेत्रमा २५ प्रतिशत उडान भर्ने गरी सरकारले तयारी थालेको छ ।
त्यस्तैगरी विश्व बैंकले तयार पारेको नयाँ एक अध्ययन प्रतिवेदनले पछिल्लो एक दशकमा नेपालमा ४० लाख नयाँ रोजगारी सिर्जना भएको उल्लेख गरेको छ । विश्व बैंकको अध्ययन प्रतिवेदनमा नेपालको ठूलो जनशक्ति कृषिबाट अन्य क्षेत्रमा आकर्षित हुँदै गएको तथा यसले रोजगारी सिर्जना हुने संख्या बढाएको उल्लेख गरेको हो ।
लामो समयदेखि सीमा विवादका कारण तनावमा रहेका भारत र चीन बीच द्वन्द्वको स्थितिबाट ‘छिट्टै पछि हट्ने’ सहमति भएको छ । भारत–चीन बीच एकअर्काले सीमा क्षेत्रमा विभिन्न आरोप लगाउँदै आएकोमा बिहीबार मस्कोमा दुई देशका विदेश मन्त्रीहरू बीच भएको छलफलपछि सीमाको तनाव कम गर्ने सहमति भएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया