रुसी सेनाको करिब नियन्त्रणमा पुगेको युक्रेनी पूर्वी सहर सेभेरोदोनेत्स्कलाई युक्रेनी सेनाले पुनः कब्जा गरेका छन् । सेभेरोदोनेत्स्क सहरको एउटा भाग पुनः कब्जा गरेको युक्रेनका क्षेत्रीय गभर्नरले दाबी गरेका छन् । सहरलाई आफ्नो नियन्त्रणमा लिने रुसी र युक्रेनी सेनाको रस्साकस्सीबीच युक्रेनी सेनाले सहरको केही भाग आफ्नो कब्जामा लिन सफल भएको हो ।
आफ्ना सेनाले आक्रमणकारी रुसी फौजलाई पछाडि धकेलेको गभर्नरले जनाएका छन् । गभर्नर सर्गी हाइदाईले भने कि रुसीहरूले यसअघि देशको पुरानो औद्योगिक सहरलाई रुसी सेनाले लगभग ७० प्रतिशत कब्जा गरिसकेको बताएका थिए । तर, युक्रेनी सेनाले सेभेरोदोनेत्स्कको ठूलो हिस्सा पुनः प्राप्त गरेको उनले बताए । रुसी सेनाको मुख्य निशाना बनेको सो सहर केही सातादेखि निरन्तरको गोलाबारीमा परेको छ ।
यसैबीच, सेभेरोदोनेत्स्कमा लडाइँ जारी रहेको गभर्नर हाइदाईले बताएका छन् । शनिवार एउटा टेलिग्राम पोस्टमा हाइदाइले पछिल्लो २४ घण्टामा युक्रेनी फौजले ९ ओटा हमलाको प्रतिकार गरेको बताए । युक्रेनी फौजले रुसी सेनाको एक एक ओटा ट्यांक र तोपखाना र ८ वटा सशस्त्र गाडी ध्वस्त पारेको दाबी गरेका छन् ।
वायु रक्षा इकाइले एउटा क्रुज मिसाइल र तीन ओटा मानवरहित हवाई साधन खसालिदिएका उनले दाबी गरे । रूसी सेनाहरूले आफ्ना सबै भण्डारहरू सेभेरोदोनेत्स्कमा फ्याँकिरहेका छन्’, उनले भने, ‘मानवीय अवस्था यति भयावह छ की सहरमा खाना र औषधि पुर्याउन असम्भव छ । ’
अमेरिकाले प्रदान गरेको नयाँ तोपाखाना निर्णायक हुने उनले बताए । सो हतियारमार्फत रुसी फौजलाई खेद्ने उनको भनाइ छ । शुक्रवार राति नियमित सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना ‘विश्वको दोस्रो सेना’ भन्दै खिल्ली उडाएका थिए । सम्बोधनका क्रममा उनले रुसी सेनासँग अब तितो मुस्कान, युद्ध अपराध, घृणा र अपमान बाँकी रहेको टिप्पणी गरे । एजेन्सी
प्रतिक्रिया