नेपाल स्काउटद्वारा खेलकुदमन्त्री तामाङ दीक्षित (भिडियाेसहित)

नेपाल स्काउटद्वारा खेलकुदमन्त्री तामाङ दीक्षित (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल स्काउटले युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई दीक्षित गरेको छ । विहीबार स्काउट केन्द्रीय कार्यालय लैनचौरमा खेलकुदमन्त्री तामाङलाई स्काउटले दीक्षान्त समारोह कार्यक्रमको आयोजना गरेर दीक्षित गरेको हो । नेपाल स्काउटको संरक्षक प्रधानमन्त्री रहने व्यवस्था रहेको छ भने प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री रहने व्यवस्था रहेको छ ।

यस अघिका स्काउटका प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा मन्त्रीबाट हटेपछि नवनियुक्त मन्त्री तामाङलाई स्काउटले दीक्षित गरेको हो ।

भिडियाे :

कार्यक्रममा स्काउटले विश्वभरी फैलिएको कोरोना महामारीको विषम परिस्थितीमा तथा अहिलेसम्म स्काउटले गरेका कामको विषयमा मन्त्रीलाई जानकारी दिएको छ । दीक्षान्त समारोह कार्यक्रममा बोल्दै मन्त्री तामाङले स्काउटले गरेको कामको प्रशंसा गरेका छन् । उनले स्काउटले अहिलेसम्म गरेको काम अत्यन्तै सराहनीय रहेको भन्दै आगामी दिनमा स्काउटसँगै सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयमा सचिव रामप्रसाद थपलियाले सरकारको मातहतमा रहेर सरकारलाई सहयोग गर्ने पहिलो संस्था नै स्काउट रहेको बताए । उनले स्काउट मन्त्रालय मातहत रहेर काम गर्ने भएकाले आवश्यक कार्यक्रम र बजेटको व्यवस्था गर्न पहल गर्नु पर्ने बताए ।

कार्यक्रमका सभापति तथा स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटले ७७ वटा जिल्ला तथा सम्पूर्ण विद्यालयहरुका स्काउटलाई क्रियाशिल बनाउन लागि परेको बताए । उनले कोरोना महामारीको अवस्थामा समेत स्काउटले काठमाडौँ उपत्यका लगायत देशैभरि विभिन्न जनचेतनाका कार्यक्रमहरुसमेत संचालन गरेको बताए ।

त्यस्तै, कार्यक्रममा स्काउटका निर्देशक रामप्रसाद भट्टराईले स्काउटमा नयाँ कार्यसमिति आए पश्चात निकै महत्वपूर्ण कामहरु अगाडि बढाएको बताए । निर्देशक भट्टराईले स्काउटले सातै वटा प्रदेश र देशका ७७ वटै जिल्लामा क्रियाशील बनाएर विभिन्न कार्यक्रमहरु अगाडि बढाउने तयारीमा रहेको बताए ।

नेपालमा स्काउट सन् १९५२ मा स्थापना भएको हो । यो हालसम्म निरन्तररूपमा सबै जिल्लामा क्रियाशिल रहेको छ । अनुशासन, साहस एवं सहयोगलाई मूलमन्त्र मानेर अघि बढेको छ । स्काउटको मिसन अनुसार नेपालमा युवाहरूलाई जिम्मेवार नागरिक बनाउने अभियान चलाइएको छ । युवाहरूको भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य स्काउटले लिएको छ । स्काउट आन्तरिक स्रोतसाधनमा युवा मन्त्रालयको सहयोग र सहकार्यमा अगाडि बढिरहेको छ ।

स्काउट विशुद्ध गैरराजनीतिक एवं सामाजिक अभियानको अभियन्ताको रूपमा आम नेपाली युवायुवती, बालवालिका तथा वृद्धवृद्धाहरूलाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरण गराउने कार्यमा निरन्तर लागि परेको छ ।

Logo