कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन्।
कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन्। विगतका तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयो गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि सचेत बन्न थालेको बताउँछन्।
तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटाकी दुर्गा मल्ल आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउछन्। “बाली बिरुवामा विनाशकारी प्राणीमा कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शङ्केकीरा, मुसा, चरा, अवान्छित झार तथा रोग लगाउने सूक्ष्म जीवाणु ढुसी, ब्याक्टेरिया, भाइरस, आदि पर्दछन्”, उनी भन्छन्, “विगतमा यी प्राणीलाई नाश गर्न रासायनिक विषादी प्रयोग गर्ने गरिन्थ्यो। आजभोलि घरमै बनाएर जैविक विषादी प्रयोग गर्ने गर्दछौँ।”
वडा नम्बर ४ खैरानाकी रेश्मीदेवी चौधरीले पनि आफ्नो बारीमा रोग कीरा लाग्यो की आफ्नै घरमा बनाएको जैविक विषादी प्रयोग गर्छन्। “रासायनिक विषादीले गर्ने असरबारे जानकार थिएनौँ, जसले गर्दा जथाभावी प्रयोग गरिरहेका थियौँ”, रेश्मीदेवीले भने, “आजभोलि विषादी प्रयोगमा हामी सचेत भएका छौँ। विषादी प्रयोगमा सावधानी नअपनाएमा वा उचित रुपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, अरु मानिस, घरपालुवा पशु, वन्यजन्तु र लाभकारी कीरालाई समेत हानी पुर्याउँछ भनेर घरमै बनाएको विषादी प्रयोग गर्न थाल्यौँ।”
किसानले जैविक विषादीका साथै मोहनी पासोसमेत थापेर कीरा नियन्त्रण गर्ने अभ्यास गरिरहेका छन्। यसले गर्दा पनि बारीमा लगाएको बाली बचाउन सकिने किसान बताउँछन्। “जैविक विषादी तथा विभिन्न किसिमका पासोहरु थापेर पनि कीरा नियन्त्रण गर्न सकिएन भने मात्र अलिकति रासायनीक विषादी प्रयोग गर्छौं, नभए गर्दैनौँ”, चुरे गाउँपालिका–३ काफल गैराका तेजबहादुर बोहराले भने, “जैविक विषादी प्रयोग गर्नु भनेको मानव स्वास्थ्यका लागि राम्रो हो। लामो र स्वस्थ जीवनका लागि जैविक विषादीको प्रयोग गर्नुपर्छ।”
जैविक विषादी खर्चका हिसाबले पनि सुरक्षा हुने, मानव स्वास्थ्यलाई पनि हानी नगर्ने हुँदा जैविक विषादी प्रयोग गर्ने गरेको काफल गैराकै किसान मीनबहादुर शाहीको भनाइ छ। “यसका साथै मोहनी पासो र फेरोमन ट्रयापलगायतका प्रविधि कीरा नियन्त्रणमा प्रयोग गरिरहेको छु”,उनले भने,“तरकारीमा किसानले नजानेर धेरै विषादी प्रयोग गर्ने रहेछन्, जसले मानिसको स्वास्थ्य सङ्कटमा छ।”





























प्रतिक्रिया