कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि

कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि

केन्द्रबिन्दु
9
Shares

कैलाली । कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो।

दाना लाग्ने बेला पानी परेकाले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताए। गत वर्ष जिल्लाभर ३४ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख तीन हजार चार सय ७१ मेट्रिकटन उत्पादन भएको थियो। यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार तीन सय १२ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारी जोशीले जानकारी दिए।

उनले गत वर्षको तुलनामा एक हजार सात सय २५ हेक्टर कम क्षेत्रफलमा गहुँखेती गरिए पनि दाना लाग्ने बेलामा पानी परेकाले गहुँ उत्पादनमा वृद्धि भएको जानकारी दिए। यसैगरी यो वर्ष नौ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार चार सय ९१ मेट्रिकटन उत्पादन भएको छ। गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा आठ हजार सात सय ७० मेट्रिकटन दलहन बाली उत्पादन भएको थियो। यस वर्ष दलहनबाली एक हजार सात सय २१ मेट्रिकटनले वृद्धि भएको हो।

यो वर्ष १४ हजार ६० हेक्टरमा तेलहनबाली लगाइएकामा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको छ। गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा १३ हजार सात सय ९७ मेट्रिकटन तेलहनबाली उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

त्यस्तै ५४ हजार ८२ हेक्टर क्षेत्रफलमा यस वर्ष हिउँदे तरकारीखेती गरिएकामा ६९ हजार एक सय ३६ मेट्रिकटन उत्पादन भएको जनाइएको छ। गत वर्ष ५५ हजार एक हेक्टर क्षेत्रफलमा ६९ हजार एक सय छ मेट्रिकटन हिउँदे तरकारी उत्पादन भएको थियो।

यस वर्ष जिल्लामा मसलाबाली उत्पादनमा समेत वृद्धि भएको छ। यो वर्ष १६ हजार छ सय ६७ हेक्टरमा मसला खेती गरिएकामा १९ हजार १७ मेट्रिकटन उत्पादन भएको छ। गत वर्ष १६ हजार २७ हेक्टरमा १८ हजार छ सय ८२ मेट्रिकटन मसला बाली उत्पादन भएको थियो।

Logo