बागलुङका पुन कोरियाबाट फर्केर माछापालनमा रमाउँदै

बागलुङका पुन कोरियाबाट फर्केर माछापालनमा रमाउँदै

केन्द्रबिन्दु
9
Shares

बागलुङ । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ। बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन्।

उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हुन्। तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन्।

“श्रमिकका रूपमा कोरिया पुगेको थिएँ। कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारीखेती र रिसोर्ट खोलेको हुँ”, उनले भने, “कोभिड–१९ सुरु हुनुअघि एकैपटकमा माछाबाट छ लाखसम्म आम्दानी भयो। त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ।”

पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोब्बर नाफा हुन्छ। कोरियामा जस्तै नेपालमै काम गर्नसके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उनको भनाइ छ। रु ५० लाख लगानी गरकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताए।

उनले छोरा अमृतलाईसमेत माछापालनमा लगाएका छन्। माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिएका छन्। “कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु”, उनले भने।

चार वर्ष निकै फस्टाएको माछापालन अहिले घटेको उनको भनाइ छ। १४ रोपनी जग्गाको वार्षिक रु एक लाख ५० हजार भाडा तिर्नुपर्छ। उनले रिसोर्ट, तीन वटा माछापोखरी, रेष्टुराँ, तीन वटा प्लास्टिक टनेल र तरकारीखेती लगाएका छन्।

पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उनले बताए। उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिए। तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२/१५ लाख आम्दानी हुने तर राम्रो उत्पादन नभएमा पाँच छ लाखमै सीमित हुने उनको भनाइ छ।

Logo