बागलुङको बाँझो जग्गामा फलफूल रोप्दै विदेशी

बागलुङको बाँझो जग्गामा फलफूल रोप्दै विदेशी

केन्द्रबिन्दु
18
Shares

बागलुङ । काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीगाउँ बसाइँसराइको चपेटामा छ । बूढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा विस्तारै बाझिँदै गएको छ । खेतीयोग्य जग्गामा निगाले, सल्लो र ऐंसेलुको बोट उम्रिएको छ ।

यातायातको सुविधासमेत नपुगेको उक्त गाउँमा हिजोआज चहलपहल बढेको छ । विदेशीहरू लामबद्ध भएर उक्त गाउँमा फलफूल बगैँचा निर्माणमा लागेका छन् । डोहेरीको बाँझो जग्गामा अहिले विदेशी स्वयंसेवकले धमाधम फलफूलका बोट लगाइरहेका छन् ।

विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेञ्ज प्रोग्राम) अन्तर्गत पिएसडी नेपाल मार्फत अहिले काठेखोलाको डोहेरी गाउँमा ओखर, एभोकाडो, कागती र टिमुरलगायतका फलफूलका बिरुवा विदेशी स्वयंसेवीहरुले बाँझो जग्गामा लगाइरहेको काठेखोला–२ भीमापोखराका वडाध्यक्ष विद्यापती शर्माले बताए । आयआर्जन बढाउने र वातावरण संरक्षण गर्नेगरी फलफूल रोप्ने काम चलिरहेको छ ।

सडक सुविधा नपुगेको र बसाइँसराइका कारण जमिन बाझिँदै गएपछि विदेशीको सहयोगमा अहिले आठ सय फलफूलका बिरुवा लगाइसकेको शर्माले बताए । उनले एक हजार दुई सय ओखर, एभोकाडोलगायत फलफूलका बिरुवा लगाउने योजनाअनुसार अहिले डोहेरी गाउँ र धम्जाको माझकटेरामा स्थानीयको सहयोगमा फलफूलका बिरुवा रोप्ने कार्य चलिरहेको जानकारी दिएका छन् ।

“अहिले १४ जना विभिन्न देशका विदेशी नागरिक फलफूलका बिरुवा रोप्न खटिनुभएको छ, स्थानीयले सघाइरहेका छन्, हालसम्म ४८ विदेशी स्वंसेवक बिरुवा लगाउन परिचालन भइसक्नुभएको छ, उनीहरू आफै खाल्टो खन्छन्, आफै बिरुवा रोप्छन्”, शर्माले भने । ओखर र टिमुर लगाउने काम अन्तिम चरणमा पुगेको छ भने एबोकाडा र कागतीका विरुवा लगाउने तयारी भइरहेको छ । विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेञ्ज प्रोग्राम) अन्तर्गत पिएसडी नेपालमार्फत बिरुवा खरिददेखि रोपणसम्मको सम्पूर्ण खर्च बेहोर्नेगरी बाँझो जग्गा सदुपयोग भइरहेको छ ।

बिरुवा रोप्नका लागि तीन महिना अघि नै कम्पोष्ट मल तयार गरिसकेको र अहिले बाँझो जग्गालाई सरसफाइ गरेर खाल्टा खनिरहेको डोहेरीका स्थानीय प्रेमप्रसाद न्यूरेले बताए । डोहेरी गाउँमा २२ घरपरिवार रहे पनि अहिले आठ घरमा मात्रै मानिस बस्दै आएका छन् । केही घर खण्डहर भएर भत्किएका छन् ।

बसाइँसराइका कारण उजाड बनेको गाउँ हरियाली बनाउने वडा कार्यालयको योजनाले उत्साहित बनेको न्यूरेको भनाइ छ । ओखर, कागती, टिमुर र एभोकाडोका लागि आवश्यक सिँचाइ पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ ।

न्यूरेले आफ्नो दुई रोपनी जग्गामा सल्लाका बोट, निगालो र ऐँसेलुको झाडी फाडेर ५५ ओखर र दुई सय टिमुरका बिरुवा लगाएका छन् । कागती र एभोकाडो लगाउनका लागि अन्य जग्गाको तयारी थालिएको जनाउँदै न्यूरेले गाउँभरमा एक हजार दुई सयभन्दा बढी बिरुवा लगाउने काम अन्तिम चरणमा पुगेको बताए ।

वडाको उच्च स्थानमा रहेको डोहेरी गाउँका स्थानीयलाई आय आर्जनसँग जोड्नका लागि ओखरलगायत बिरुवा रोप्न थालिएको बताउँदै उनले एक हजार दुई सय बिरुवा लगाउन रु १२ लाखसम्म खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए । केही फलफूलका बिरुवा काठेखोला–३ माझकटेरामा लगाउन थालिएको छ ।

Logo