किसानको स्वास्थ्यमा समस्या देखिएपछि विषादी प्रयोगको अवस्था बुझ्न कार्यदल गठन

किसानको स्वास्थ्यमा समस्या देखिएपछि विषादी प्रयोगको अवस्था बुझ्न कार्यदल गठन

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन् । केही दिनयता गण्डकी गाउँपालिकाका केही वडामा तरकारीखेतीमा अधिक विषादी प्रयोग गर्दा किसानकै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजानिक भएपछि मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका हुन् ।

गण्डकी गाउँपालिकाका ६१ तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार सार्वजानिक भएको थियो । मन्त्रिस्तरीय निर्णयबाट प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलमा डा काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विवेक सुनार बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला र माधव भट्ट बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेका छन् ।

सो समितिलाई प्रभावित भनिएको स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेश गर्न भनिएको छ । अधिकृत पोखरेल नेतृत्वको कार्यदल बुधबार नै प्रभावित ठाउँ पुगेर काम सुरु गरिसकेको जनाइएको छ । मन्त्री अधिकारीले विषयुक्त होइन, विषमुक्त उत्पादनमा जोड दिँदै आएका छन् ।

Logo