काठमाडौँ । १५ औं राष्ट्रिय हर्टिकल्चर सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरे ।
मन्त्री अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरी वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
सबै कृषिजन्य बालीहरुको उत्पादनको आधारभुत स्रोत बीउ नै भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए । आलु तथा मसालाबाली क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी निकायहरुका साथै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको मन्त्री अधिकारीले उल्लेख गरे ।
नेपालका रैथाने बीउबिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बीउबिजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिए । पछिल्लो समय सरकारीस्तरका बीउ उत्पादन गर्ने फार्महरुको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी बीउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अगाडि बढेको पनि उल्लेख गरे ।
दुई दिनसम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरु, विज्ञ, तरकारी बीउ उत्पादकहरू र कृषकहरूको सहभागिता छ । सम्मेलनमा आलु, मसलावाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मुल्य श्रृङ्खला, जलबायु परिवर्तन, जैविक विविधता र बीउ सम्बन्धी कानुनहरुका बारेमा छलफल हुनेछ ।





























प्रतिक्रिया