केरा खेतीतर्फ आर्कषित रौतहटका कृषक

केरा खेतीतर्फ आर्कषित रौतहटका कृषक

केन्द्रबिन्दु
21
Shares

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ३ गैंडाटारलाई केरा उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । यहाँका कृषकले धान, मकै, गहुँ, तोरी, मुसुरो, जस्ता अन्नबाली छाडेर केरा खेती गर्न थालेका छन् ।

केरा खेतीबाट मनग्य आम्दानी हुने भएपछि यहाँ कृषकले अन्नबाली लगाउन छाडेका हुन् । केरा खेतीको सम्भावना र अवस्थाका बारेमा चन्द्रपुर एकेडेमीका विद्याथीहरूले सोमबार कृषकसँग भलाकुसारी गरेका छन् ।

कृषकले समेत केरा खेती गर्ने तरिका र आम्दानी लगायतका विषयमा विद्यार्थीलाई बुझाएका छन् । अन्नबाली उत्पादनका लागि लगानी, परिश्रम र मेहनत बढी हुने तर उत्पादनमा कमि आउने र अपेक्षाकृत आम्दानी नहुने भएपछि केरा खेती गर्ने थालेको गैंडाटारका कृषक दिपक श्रेष्ठले बताए ।

एउटा केराको बोटले एक पटकमा ८० देखि सय वटा केरा उत्पादन दिने र सो केरा प्रतिगोटा ५ देखि ६ रुपैयाँसम्ममा बिक्री हुने उनले बताए । एक पटक उत्पादन नहुन्जेल मेहनत र लगानी गर्नुपर्ने र उत्पादन हुन थालेपछि आम्दानी हुने भएकाले केरा खेती गर्दै आएको कृषकको भनाइ छ ।

गैंडाटार क्षेत्रमा मात्र ३५ बिघाभन्दा बढी क्षेत्रफलमा कृषकले केरा खेती गरेका छन् । केरा खेतीतर्फ कृषककको आर्कषण बढे पनि स्थानीय निकायबाट सहयोग प्राप्त नभएकामा कृषकहरूको गुनासो छ । गाउँका अधिंकाश कृषकले केरा खेती नै गरेकाले गैंडाटार केराका लागि परिचित वा पकेट क्षेत्रका रूपमा चिनिने गरेको चन्द्रपुर नगरपालिकाले जनाएको छ । कृषकलाई प्रोत्साहन र उत्पादन बृद्धिका लागि नगरपालिकाले विभिन्न योजनाहरू ल्याउने बताएको छ ।

Logo