बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइन

बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइन

केन्द्रबिन्दु
28
Shares

बागलुङ । बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ। गलकोट नगरपालिका-१० स्थित रमुवा गाउँमा विसं २०६२ सालमा लघु जलविद्युत् पुगे पनि हिउँदको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता थियो। नेपाल विद्युत प्राधिकरणले यही वैशाख २४ गते केन्द्रीय प्रसारण लाइन बिस्तार गरेको हो।

गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय हर्षित भएका छन्। बर्खाको समयमा मात्र बिजुली बाल्न पाउन रुमुवावासीले अब बाह्रै महिना विद्युत प्रयोग गर्न पाउनेभएका छन्।

अठार वर्ष अगाडि ठूलो खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि रमुवा गाउँमा बिजुली पुगेको थियो। तर खोलामा पानीको बहाव कम हुँदा समस्या भएको थियो। जसकारण गाउँमा बिजुली आपूर्तिमा समस्या हुँदै आएको थियो।

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ७६ किलोमिटर उत्तर पश्चिममा रहेको रमुवा तुलनात्मकरुपमा विकटमा पर्छ। आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको रमुवाका स्थानीय कृषि र पशुपालनमा आवद्ध रहँदै आएका छन्। गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय उत्पादनलाई प्रशोधन र बजारीकरणमा सहज पुग्ने विश्वास लिइएको छ।

गलकोट नगरपालिका–१० का पूर्वअध्यक्ष तिलक घर्ती मगरले केन्द्रीय प्रसारण लाइन नहुँदा रमुवाका हजारौँ नागरिक अन्धकारमा बस्नुका साथै सूचना सञ्चारबाछ टाढा हुनु परेको बताए। गाउँमा सञ्चालनमा रहेको लघु जलविद्युत् आयोजनाले एउटा चिम पनि नबल्न नसक्ने र नेपाल टेलिकमको टावरसमेत सञ्चालन नहुँदा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको उहाँको भनाइ छ। अब ती समस्या समाधान हुने विश्वास लिएको घर्ती मगरले बताए।

“गाउँमा बिजुली छैन भन्दा घर–घरमा लाइन पुगेको थियो तर जलविद्युतले हिउँदको समयमा एउटा बल्ब (चिम) पनि बाल्न सक्दैनथ्यो, केन्द्रीय प्रसारण लाइन ल्याउनका लागि धेरै प्रयास गर्‍यौँ, बल्ल आयो”, उनले भने, “केन्द्रीय प्रसारण लाइनले यहाँका हजारौँ नागरिकको मुहारमा खुसी ल्याएको छ, अब बाह्रै महिना बिजुलीको सुविधा हुने छ, यसले स्थानीयको दैनिकीनै बदलिने अपेक्षा लिएका छौँ।”

Logo