बैशाख ८ गते धरानमा कन्दरा लाइभ इन धरान हुँदै

बैशाख ८ गते धरानमा कन्दरा लाइभ इन धरान हुँदै

केन्द्रबिन्दु
112
Shares

धरान । नयाँ बर्ष २०८१ को अवसर पार्दै धरानको धरान रंगशालामा बैशाख ८ गते कन्दरा ब्याण्डले आफ्नो नयाँ टिमअपसहित ‘कन्दरा लाईभ इन धरान’ सांगीतिक प्रस्तुति दिने भएको छ।

६ वर्ष अघि धरानसँगै दमक र बिर्तामोडमा भब्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको बताइएको छ। यो टिम जुटेसँगै कन्दराले ‘बिचरा म’ बोलको गीत सार्वजनिक गरिसकेको छ भने गत पौष २७ गते पोखरामा भब्य कन्सर्ट सम्पन्न गरेर पुन आफ्नो कौशलता प्रदर्शन गरिसकेको छ।

पचासको दशकदेखिको निक्कै नै लोकप्रिय ब्याण्ड कन्दराका मुख्य गायक बिबेक श्रेष्ठको बिचमा विदेश पलायनले सुस्ताएको कन्दरा श्रेष्ठको नेपाल आगमनसँगै जुर्मुराउदै आइरहेको छ।

गत पौष २७ गतेको आफ्नो पहिलो संगीत यात्रा ‘पहिला घरदेश अनि परदेश’ भन्ने नाराका साथ आफ्नो घरेलु मैदानमा सम्पन्न गरिसकेको छ। सातै प्रदेशको मुख्य शहरहरुमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुरुप धरानमा कन्दराको यो टिमअपको दोस्रो कन्सर्ट रहेको छ। यसपछि चितवन , सुर्खेत , नेपालगंज , बुटवल , जनकपुर , काठमाडौँ लगायतका प्रमुख शहरसँगै नेपालका कुना-कन्दरालगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको कन्दराका गायक श्रेष्ठले बताए।

‘लेककी हे माया’, ‘तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको जोवन ’ ‘लेककी हे माया,’ ‘तिमी पारी त्यो गाउँमा ,’ ‘विदेशीएर गइन् उनी’ ‘भेंडीगोठैमा’ लगायतका थुप्रै पुराना चर्चित गीतसँगै नयाँ गीत ‘विचरा म ’ लगायतका गीतहरु कन्दरा लाइभ इन धरान कन्सर्टको पूरा समय कन्दरा ब्याण्डले पस्केर धराने दर्शकलाई मनोरन्जन् दिने बताइएको छ।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी भैसकेको बताइएको छ।

Logo