सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा कालिमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुनको मृत्यु भएको हो।
जिल्ला अस्पताल पुर्याएलगतै उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घाइते हुनेमा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन रहेका छन् । अरू दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन। घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार जारी छ।
कालिमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर-१० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो।
क्षमताभन्दा धेरै बढी यात्रु बोकेकाले अटोरिक्सा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । घाइतेले भने उकालोमा अटोरिक्सा ब्याक भएका कारण दुर्घटनामा परेको बताएका छन्। अटोरिक्सा सडकदेखि करिब १०० मिटर तल खसेको थियो।































प्रतिक्रिया