टेकु हिरासतमा रहेका कमेडियन अपूर्व अस्पताल भर्ना

टेकु हिरासतमा रहेका कमेडियन अपूर्व अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पतालमा भर्ना भएका छन् ।

नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोगमा जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि भन्दै प्रहरीले अस्पताल भर्ना गराएको हो । मंगलबारै प्रहरीले उनलाई अस्पताल भर्ना गरेपनि यो विषय सार्वजनिक गरिएको थिएन ।

बुधबार अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । एक सुरक्षा अधिकारीका अनुसार उनलाई असहज भएपछि अस्पताल भर्ना गरिएको र अस्पतालको रिपोर्ट आएपछि के गर्ने भन्ने निर्ण गरिने छ । 

अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो । हालै नेवाः समुदायका अभियन्ताले उनको परिवारसँग छलफल गरेर रिहाइको प्रक्रिया अघि बढाउने सहमति गरेका थिए । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएर फेसबुकमार्फत माफी पनि मागेका थिए ।

तर सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दिएका थिए । त्यसपछि सोधपुछका लागि भन्दै बोलाइएका अपूर्व पक्राउ परेका थिए ।
 

Logo