महाभियोग सिफारिस समितिमा चोलेन्द्रसँगको बयान आज पनि

महाभियोग सिफारिस समितिमा चोलेन्द्रसँगको बयान आज पनि

केन्द्रबिन्दु
0
Shares

महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिँदै छ । 

समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्ने लागेको  सिफारिस समितिका सदस्य लालबाबु पण्डितले जानकारी दिए । आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहने उनले बताए। समितिले अहिलेसम्म १२ वटा प्रश्न मात्रै सोधेको छ । 

जबराविरुद्ध ४२ वटा आरोप लागेको छ। ति सबै प्रश्नको जवाफ समितिले लिने जनाएको छ । तर जबरा भने प्रश्नको उत्तरमा भन्दा आफ्ना सहकर्मी न्यायाधीशहरु र राजनीतिक दलका शीर्ष नेतालाई आरोप लगाउन मै समय खर्च गरिरहेका छन् । समितिको अहिले जम्मा तिन वटा मात्रै बैठक बसेको छ ।

जबराविरुद्ध  गत फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन् । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका देव गुरुङ, नेपाली कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक रहेको जबराविरुद्धको महाभियोग प्रस्ताव गत वर्ष फागुन २९ गते प्रतिनिधिसभाको बैठकमा पेस भएको थियो ।​ त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग सिफारिस समिति बनाएका थिए ।

उक्त समितिमा मीनबहादुर विश्वकर्मा, शिवमाया तुम्बाहाम्फे, विष्णु पौडेल, लालबाबु पण्डित, कृष्णभक्त पोखरेल, यशोदा सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, कल्याणी खड्का, प्रमोद साह र एकवाल मियाँ सदस्य रहेका छन् ।

प्रतिनिधिसभाको कार्यकाल अब एक हप्ता मात्रै बाँकी रहँदा समितिले बयान सक्ने नसक्ने अझै अन्योल छ । प्रतिनिधिसभाको कार्यकाल सकिएपछि समितिको औचित्य सकिने भएकोले महाभियोग स्वतः खारेज हुने  एकथरिको मत छ भने अर्को थरिले भने महाभियोग कायमै रहने धारणा राखिरहेका छन् ।  

Skip This
Skip This
Logo