धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक घाइते

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक घाइते

केन्द्रबिन्दु
0
Shares

धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्।

प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ का ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ।

खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।

पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ। समूहका अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।

Skip This
Skip This
Logo