प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरु निर्वाचित भएको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नदिएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रतिपक्ष दलमाथि प्रतिसोध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्दै सांसद अधिकारीले त्यसको जवाफ तत्काल दिन सरकारसँग माग गरे ।
‘अघिल्लो सरकारले रणनीतिक महत्वका सडकहरु १६५ निर्वाचन क्षेत्रमै अगाडि बढायो । आज ती सुसुप्त अवस्थामा छन् या तिनलाई रोकिएको छ । प्रतिपक्ष प्रतिनिधिसभाका सदस्यहरुले सिफारिस गरेका ठाउँहरुमा बजेट निकासा नदिने वा तिनलाई कामयावी हुन नदिनेसम्मको काम गरिएको छ । र, अनेकौं विकास आयोजनाहरुमा पनि यस्तो किसिमको गम्भिर सरकारी षडयन्त्रहरु भईरहेका छन् । विकास निर्माणको कामलाई ठप्प पारिएको छ । सरकारले यसको जवाफ दिनु पर्दछ । विकास विरोधी सरकार हुनुहुँदैन ।’ उनले भने ।
सांसद अधिकारीले गुठीयारहरुको समस्या समाधान गर्न सरकार उदासिन रहेको भन्दै आक्रोश समेत व्यक्त गरे । केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सो सम्बन्धि विधेयकको विरोध गर्नेहरु अहिले सरकारमा रहेको उल्लेख गर्दै उनले ती समस्या समाधान गर्न सरकारलाई दवाव समेत दिए । ‘अहिलेसम्म सम्माननीय सभामुख महोदय, श्री ५ को वायु गुठी धादिङमा छ । अनि, पलाञ्चोक, म्याग्दी लगायत देशका विभिन्न भागमा अहिले पनि गुठी समस्या छन । र, ती गुठीको समस्या समस्या समाधान गर्न सरकारले कुनै ध्यान दिएको छैन । उदासिन छ । र, यो सरकारले हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयकलाई भड्काउन माईतीघर मण्डलामा जुलुसमा सामेल हुनेहरु अहिले सत्तामा हुनुहुन्छ । उहाँहरु के गर्दै हुनुहुन्छ ?’





























प्रतिक्रिया