एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ ।
बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् ।
यस सेवाअन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ । त्यसका लागि रकम पठाउने विदेशी तथा स्वदेशी ग्राहकहरूले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको ख्क्ष्क्ब् कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् ।
विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै ल्याइएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।
बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया